प्रादेशिक अस्पताल जनकपुरमा टिकट काट्नै दुई घण्टा लाइन

जनकपुरधाम, २ चैत । मधेश प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक अस्पताल जनकपुरधाममा पछिल्ला वर्षहरूमा भवन र शैयाको संख्या विस्तार गरिए पनि आवश्यक कर्मचारी नबढ्दा बिरामीहरूले आधारभूत सेवामै सास्ती भोग्नुपरेको गुनासो बढ्दै गएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरू टिकट काट्नकै लागि दुई–दुई घण्टा लाइनमा बस्न बाध्य भएका छन् ।
अस्पतालको भौतिक पूर्वाधार विस्तारसँगै सेवा सुधार हुने विश्वास गरिए पनि कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको बिरामी र उनका आफन्तहरूको भनाइ छ ।
बिहानैदेखि अस्पताल पुगेका बिरामीहरू ओपीडी टिकट लिन लामो लाइनमा बस्नुपर्ने अवस्था देखिन्छ । कतिपय बिरामीले घण्टौँ लाइन बसेपछि मात्रै डाक्टर देखाउन पाउने गरेका छन् ।
धनुषाको ग्रामीण क्षेत्रबाट उपचारका लागि आएका एक बिरामीका आफन्तले भने, ‘बिहान ७ बजे नै अस्पताल आइपुग्यौं । तर, टिकट काट्न मात्रै करिब दुई घण्टा लाग्यो । बिरामीको अवस्था कमजोर हुँदा पनि लाइनमा बस्नुपरेको छ ।’
स्थानीयको भनाइमा अस्पतालमा बिरामीको चाप दिनहुँ बढिरहेको छ । तर, त्यसअनुसार कर्मचारी संख्या थपिएको छैन । टिकट काउन्टर, नर्सिङ सेवा तथा प्रशासनिक शाखामा सीमित जनशक्तिले काम गर्नुपर्दा सेवा सुस्त भएको उनीहरूको गुनासो छ ।
अस्पताल परिसरमा नयाँ भवन निर्माण र शैयाको संख्या बढाइए पनि सेवा प्रवाहको मुख्य आधार मानिने चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको अभाव देखिएको छ । स्वास्थ्य सेवा लिन आउने बिरामीहरूको संख्या दैनिक बढ्दै जाँदा अहिलेको जनशक्तिले सेवा व्यवस्थापन गर्न कठिन भइरहेको कर्मचारीहरू नै बताउँछन् ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार भौतिक संरचना विस्तार मात्रले स्वास्थ्य सेवा सुधार हुँदैन । पर्याप्त जनशक्ति, उपकरण र व्यवस्थापन सुधारसँगै सेवा विस्तार गरिए मात्र बिरामीले प्रभावकारी उपचार पाउन सक्छन् ।
‘पूर्वाधार बनाउनु राम्रो कुरा हो । तर, त्यसलाई सञ्चालन गर्ने जनशक्ति नभए सेवा सुधार हुँदैन,’ एक स्वास्थ्यकर्मीले भने ।
यस्तो अवस्थामा मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्बन्धित निकायले अस्पतालको जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ । अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रभावित भइरहँदा यसको प्रत्यक्ष असर बिरामीमाथि परेको सरोकारवालाहरू बताउँछन् ।
विशेषगरी ग्रामीण क्षेत्रबाट आउने विपन्न बिरामीहरूका लागि यो अस्पताल मुख्य भरोसाको केन्द्र हो । तर, टिकट लिनमै घण्टौँ कुर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा सहज रूपमा पाउने अधिकारमाथि नै प्रश्न उठाएको स्थानीयहरू बताउँछन् ।
सरोकारवालाहरूले अब पूर्वाधार विस्तारसँगै आवश्यक जनशक्ति थप्ने, टिकट प्रणालीलाई व्यवस्थित गर्ने तथा सेवा व्यवस्थापन सुधार गर्ने पहल नगरे अस्पतालको सेवा झन् प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


