जनकपुरधाम, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम सूचीमा धनुषाका दुई उम्मेदवार अट्न नसकेपछि स्थानीय स्तरमा चर्चा र निराशा देखिएको छ ।

पार्टीको चुनावी अभियानमा सक्रिय भूमिका खेलेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का देवनारायण मण्डल र कमला नगरपालिका–३ पर्साकी जुली कुमारी यादव अन्तिम सूचीमा परेनन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा मधेशका विभिन्न स्थानमा पार्टीको पक्षमा सक्रिय रूपमा प्रचारप्रसार गरेका उनीहरू दुवैजना अन्तिम सूचीबाट बाहिरिएपछि समर्थकहरू आश्चर्यचकित भएका छन् ।

धनुषाको चारै निर्वाचन क्षेत्रमा पुगेर पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न आग्रह गर्दै प्रचारमा खटिएका देवनारायण मण्डलले समानुपातिक सूचीमा नाम नपरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै अब आफ्नो समयको ३० प्रतिशत मात्र पार्टीका लागि र बाँकी समय व्यक्तिगत व्यवसायमा दिने उल्लेख गरेका छन् । मण्डल मिथिलाबिहारी नगरपालिका–२ र ३ को बीचमा रहेको ‘कल्चरल भिलेज’ का सञ्चालकसमेत हुन् । उनको उक्त अभिव्यक्तिलाई कतिपयले पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको रूपमा टिप्पणी गरेका छन् ।

त्यसैगरी, कमला नगरपालिका–३ पर्साकी जुली कुमारी यादव पनि समानुपातिक सूचीमा पर्ने आशामा काठमाडौं पुगेकी थिइन् । चुनावी अभियानमा सक्रिय रूपमा सहभागी भएकी उनले अन्तिम सूची सार्वजनिक हुनुअघि सामाजिक सञ्जालमा आफ्नो नाम सिफारिस भएको संकेत गर्ने भिडियोसमेत सार्वजनिक गरेकी थिइन् । उनका समर्थकहरूले उनलाई बधाईसमेत दिएका थिए ।

तर, अन्तिम सूचीमा नाम नआएपछि जुली यादव निराश देखिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यसपटक अवसर नपाए पनि आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने संकेत दिएकी छन् ।

देवनारायण मण्डल सामाजिक तथा वातावरणीय क्षेत्रमा सक्रिय अभियन्ताका रूपमा चिनिन्छन् भने जुली कुमारी यादव केही समय मोडलिङ क्षेत्रमा सक्रिय रहेपछि राजनीतिमा प्रवेश गरेकी हुन् । उनी रास्वपाको समानुपातिक सूचीमा मधेशी महिलातर्फ आठौँ नम्बरमा सिफारिस भएकी उम्मेदवारका रूपमा चर्चा भए पनि अन्ततः अन्तिम सूचीमा अट्न सकेनन् ।

मधेश प्रदेशबाट ठूलो संख्यामा समानुपातिक मत प्राप्त गरेको रास्वपाले अन्तिम सूची सार्वजनिक गरेसँगै स्थानीय नेताहरूको भूमिका र प्रतिनिधित्वबारे विभिन्न तहमा बहस सुरु भएको छ ।