संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

जनकपुरधाम, २ चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर, उनले जनताको अधिकार र एजेण्डाका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय पदको राजनीतिबाट टाढा रहने तर सक्रिय राजनीतिक जीवन भने जारी रहने स्पष्ट पारेका छन् । उनले आफू जनताको सेवा, सिद्धान्त र एजेण्डाका लागि निरन्तर सक्रिय रहने बताएका छन् ।
अध्यक्ष राउतले पार्टीलाई आवश्यक रहेसम्म नेतृत्व प्रदान गर्दै आगामी राजनीतिक यात्रामा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी त्यसबेला राष्ट्रिय दल बन्न सफल भएको थियो । सो निर्वाचनमा राउत स्वयं पनि प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने समानुपातिकतर्फ पनि पार्टीले केही सिट प्राप्त गरेको थियो ।
तर, २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने जनमत पार्टीले कुनै पनि सिट प्राप्त गर्न सकेन । सप्तरी–२ बाट उम्मेदवारी दिएका राउत राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भएका थिए ।
राउतले अब संसदीय राजनीतिबाट टाढा रहेर पार्टीलाई आगामी स्थानीय र प्रदेश तहका निर्वाचनका लागि तयार पार्ने बताएका छन् । उनले आफू सधैं जनताको बीचमा रहने, विभिन्न आन्दोलन र संघर्षमा सक्रिय भूमिका निर्वाह गर्ने र अधिकार तथा पहिचानको लडाइँमा निरन्तर लागिरहने उल्लेख गरेका छन् ।
राउतले जनमत पार्टीको अध्यक्ष बन्नु पनि आफ्नो व्यक्तिगत चाहना नभएको दाबी गरेका छन् । उनले सहकर्मी नेताहरूलाई अध्यक्ष बन्न आग्रह गर्दा कसैले स्वीकार नगरेपछि अन्ततः आफूले नेतृत्व सम्हाल्नुपरेको बताएका छन् ।
उनका अनुसार सरकारबाट गतिविधिमा अवरोध र जनतामाझ पुग्न कठिनाइ भएपछि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले जनमत पार्टी स्थापना गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


