जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन

काठमाडौं, २ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले ‘प्रतिवेदन कहाँ छ?’, ‘सत्यतथ्य सार्वजनिक गर’ र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारप्रति असन्तुष्टि जनाएका थिए ।
उनीहरूले लामो समय बित्दा पनि आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनका क्रममा केही युवाहरूले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । उनीहरूले घटनाको छानबिन गर्न आयोग गठन गरिए पनि प्रतिवेदन सार्वजनिक नगरिनुले पारदर्शितामाथि प्रश्न उठेको बताए ।
भदौ २३ र २४ गते युवाहरूले विभिन्न माग राख्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । त्यसपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिएकाले नागरिक र आन्दोलनमा सहभागी युवाहरूबीच असन्तुष्टि बढ्दै गएको छ ।
उक्त आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको बताइएको छ ।
प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न तथा युवाहरूका जायज मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


