सिरहा, २ चैत । इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिएको छ ।

दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा सोमबार गोलबजारमा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले हत्या तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजीसहित र्‍याली निकाल्दै पीडितलाई न्याय दिन राज्य गम्भीर बन्नुपर्ने बताएका थिए । र्‍यालीपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा आयोजना गरिएको थियो ।

कोणसभामा वक्ताहरूले पछिल्ला समय महिलामाथि, विशेषगरी दलित महिलामाथि हिंसा र हत्या घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित रूपमा घर फर्किन्छन् कि फर्किन्नन् भन्ने डर अभिभावकमा बढ्दै गएको बताएका थिए ।

वक्ताहरूले राज्यका निकायहरूले महिलाप्रति संवेदनशील र जिम्मेवार दृष्टिकोण नअपनाउँदा महिलाहरू अझ जोखिममा परेको जिकिर गरे । कानुनी राज्यको प्रभावकारी कार्यान्वयन, इमान्दार प्रशासन र जिम्मेवार जनप्रतिनिधित्व कमजोर हुँदा यस्ता घटनाहरू बढ्दै गएको उनीहरूको भनाइ थियो ।

उनीहरूले समाजमा महिलाले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै दलित महिलामाथि भइरहेका बलात्कार तथा हत्या घटनाप्रति राज्य गम्भीर हुनुपर्ने आवाज उठाए ।

कोणसभामा दलित अगुवा सञ्जय महरा, शिवकुमार महरा, रिता रजकलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।