बारा, २ चैत । नेपाली कांग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवसहित १६ जनामाथि कारबाही गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।

बारा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले उनीहरूविरुद्ध अनुशासनात्मक कारबाही गर्न सिफारिस पठाएको हो ।

क्षेत्रीय सचिव राजेश भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निर्वाचनमा असहयोग गरेको आरोपमा जिल्ला सभापति यादवसहित १६ जनाको नाम केन्द्रमा पठाइएको हो ।

क्षेत्रीय कार्यसमितिले केन्द्रलाई पठाएको पत्रमा बारा–३ मा कांग्रेसका उम्मेदवार मन्सुरलाई पराजित गराउन यादवले आफ्ना नातेदार तथा निकट नेता कार्यकर्तालाई परिचालन गरेको आरोप लगाइएको छ । पत्रमा उनले पार्टी उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको दाबी गरिएको छ ।

क्षेत्रीय सभापति प्रभात कुमार चौरसियाद्वारा हस्ताक्षरित सिफारिस पत्रमा आरोपित सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

क्षेत्रीय कार्यसमितिले पार्टीको अनुशासन र संगठनात्मक हितविरुद्ध गतिविधि गरेको ठहर गर्दै आवश्यक निर्णय लिन पार्टी केन्द्रीय समितिसमक्ष सिफारिस पठाएको जनाएको छ ।

कारबाहीको सिफारिसमा परेकाहरूको नाम
राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा
रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि दक्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)