जनकपुरधाम, २ चैत । जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले दुई दिवसीय कार्यशाला आयोजना गरिएको छ ।

जनकपुरधाममा आयोजित उक्त कार्यशालामा सरोकारवाला निकाय, विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यशालामा जानकी मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे छलफल गर्दै त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन आवश्यक प्रक्रिया, दस्तावेजीकरण र पूर्वाधार व्यवस्थापनबारे विस्तृत रूपमा विमर्श गर्न लागिएको हो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका, पुरातत्व विभाग, पर्यटन क्षेत्रका सरोकारवाला तथा अनुसन्धानकर्ताहरू सहभागी छन् ।

उनीहरूले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक मापदण्ड पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

जानकी मन्दिर धार्मिक आस्थाको मात्र केन्द्र नभई मिथिला सभ्यताको महत्वपूर्ण पहिचान पनि हो । यसलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्राविधिक प्रक्रिया अघि बढाउन यस्ता कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले भने, ‘जनकपुरधामको पहिचान नै जानकी मन्दिरसँग जोडिएको छ । यदि यो विश्वसम्पदा सूचीमा सूचीकृत हुन सके जनकपुरधामको पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।’

कार्यशालामा सहभागी विज्ञहरूले जानकी मन्दिरको संरक्षण, व्यवस्थापन योजना, ऐतिहासिक प्रमाण संकलन तथा आवश्यक प्राविधिक कागजात तयार गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

आयोजकका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।