जनकपुरधाम, १ चैत । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि हस्तक्षेप गर्न नपर्ने आदेश दिएको छ ।

साहले निर्वाचन आयोगको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने मागसहित साहले अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

तर, अदालतले हाललाई अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको ठहर गरेको हो ।

न्यायाधीशद्वय बिनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले दिएको आदेशसँगै आयोगको निर्णय यथावत् रहने भएको छ ।

यस आदेशपछि धनुषा–१ मा साहको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कायम रहने देखिएको छ ।

साथै, सोही आधारमा निर्वाचन अधिकृतको कार्यालयले मातृका यादवलाई निर्वाचित भएको घोषणा गरेको निर्णय पनि यथावत् रहने अवस्था बनेको छ ।

सर्वोच्चको अन्तिम फैसला आउन बाँकी रहे पनि अन्तरिम आदेश नआएसँगै हालका लागि निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णयलाई कानुनी रूपमा निरन्तरता मिलेको छ ।