महोत्तरी, १ चैत । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गएराति करिब ११ बजेतिर पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा १०९ किलोग्राम गाँजा बरामद गरिएको हो ।

प्रहरी उपरीक्षक हेरम्ब शर्माले दिएको जानकारी अनुसार सहसौला चोक नजिकबाट डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिँदा कारभित्र २० वटा पोकामा लुकाएर राखिएको १०९ किलोग्राम गाँजा फेला परेको हो ।

गोप्य सूचनाका आधारमा लागू औषध ब्युरो तथा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उक्त कारलाई रोकेर तलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार नियन्त्रणमा लिए पनि चालक भने घटनास्थलबाट फरार भएको बताइएको छ । फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा तथा कारलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।