जनकपुरधाम, १ चैत । जनकपुरधामबाट देशका विभिन्न शहरतर्फ सञ्चालन हुने लामो दूरीका बसहरूमा यात्रुहरूलाई अत्यधिक भीडभाडमा कोंचेर यात्रा गराइने गरेको गुनासो बढ्दै गएको छ ।

क्षमताभन्दा बढी यात्रु चढाएर बस सञ्चालन गर्दा यात्रुले असहज, जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपरेको बताइएको छ ।

बसभित्र यात्रुहरू उभिएर, झुकेर वा एकअर्कालाई कोंचिएर यात्रा गर्न बाध्य भएको दृश्यहरू सामान्य जस्तै बनेका छन् ।

यात्रुहरूको भनाइमा लामो दूरीका बसहरूमा पनि यस्तो भीडभाड हुँदा दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ । तर, सम्बन्धित निकायले यस विषयमा प्रभावकारी अनुगमन नगरेको आरोप लाग्दै आएको छ ।

यात्रुहरूका अनुसार बस व्यवसायीहरूले बढी कमाइ गर्ने उद्देश्यले क्षमताभन्दा धेरै यात्रु चढाउने गरेका छन् । टिकट काटेर बसमा चढे पनि सिट नपाउने अवस्था हुने गरेको यात्रुहरू बताउँछन् । कतिपय अवस्थामा बसभित्र सास फेर्नसमेत कठिन हुनेगरी यात्रुहरू कोचिने गरेका छन् ।

जनकपुरधामबाट नारायणघाटतर्फ यात्रा गरिरहेका एक यात्रु रामकुमार यादवले यस्तो अवस्थाप्रति आक्रोश व्यक्त गर्दै भने, ‘हामीले टिकट काटेर यात्रा गर्छौं । तर, बसमा चढेपछि उभिएर यात्रा गर्नुपर्छ । बसभित्र यति भीड हुन्छ कि राम्रोसँग सास फेर्न पनि गाह्रो हुन्छ । लामो दूरीको यात्रा यसरी गर्नु निकै कष्टकर हुन्छ । यातायात कार्यालय र ट्राफिक प्रहरीले अनुगमन गर्नुपर्छ । तर, कसैले चासो दिएको जस्तो लाग्दैन ।’

यात्रुहरूका अनुसार विशेषगरी चाडपर्वको समय मात्रै नभई सामान्य दिनमा पनि जनकपुरधामबाट चल्ने धेरै बसहरूमा यस्तै भीडभाड हुने गरेको छ । बसभित्र सिट संख्या सीमित भए पनि उभिने यात्रुसमेत अत्यधिक हुने गरेको छ ।

लामो दूरीको बसमा क्षमताभन्दा बढी यात्रु चढाउनु सुरक्षाका दृष्टिले जोखिमपूर्ण मानिन्छ । आकस्मिक ब्रेक वा दुर्घटनाको अवस्थामा यात्रुहरू गम्भीर घाइते हुनसक्ने सम्भावना बढ्ने उनीहरूको भनाइ छ ।

स्थानीय यात्रुहरूले जनकपुरधामबाट सञ्चालन हुने बस सेवामा नियमित अनुगमन र कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा निर्धारित क्षमताभन्दा बढी यात्रु चढाउन नदिने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

यात्रुहरूका अनुसार बस सञ्चालनमा देखिएको यस्तो लापरबाहीप्रति यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी तथा स्थानीय प्रशासनले प्रभावकारी निगरानी नगर्दा समस्या झन् बढ्दै गएको छ । उनीहरूले बस सेवामा सुधार ल्याउन तत्काल अनुगमन र कारबाहीको प्रक्रिया सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर नियमअनुसार बस सञ्चालन गराउन सम्बन्धित निकायले कति चासो देखाउँछ भन्ने विषय अहिले सर्वसाधारणका लागि चासोको विषय बनेको छ ।