जनकपुरधाम, १ चैत । धनुषा जिल्लामा खाना पकाउने ग्यासको अभाव नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जिल्लामा दैनिक तीन हजारभन्दा बढी ग्यास सिलिन्डर आपूर्ति भइरहेको जानकारी दिँदै आपूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे ।

उनका अनुसार जनकपुरधाम क्षेत्रमा मात्रै दैनिक करिब दुई हजार सिलिन्डर ग्यास आपूर्ति भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले जिल्लामा हाल नोबेल ग्यास र नारायणी ग्यास कम्पनीमार्फत नियमित रूपमा ग्यास आपूर्ति भइरहेको बताए ।

उनले प्रशासनले बजारको अवस्था निरन्तर अनुगमन र निगरानी गरिरहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरे ।

‘धनुषामा ग्यासको अभाव छैन । दैनिक आवश्यकताअनुसार आपूर्ति भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताहरूले अनावश्यक रूपमा ग्यास स्टक नराख्न र बजारमा कृत्रिम अभाव सिर्जना हुने गतिविधिबाट टाढा रहन आवश्यक छ ।’

प्रजिअ लुइँटेलले ग्यास डिलर र विक्रेताहरूलाई पनि इमान्दारीपूर्वक वितरण गर्न आग्रह गर्दै कार्टेलिङ गरी कृत्रिम अभाव सिर्जना गर्ने वा अफवाह फैलाउने कार्य कानुनविपरीत हुने चेतावनी दिए । त्यस्ता गतिविधि फेला परे कडाइका साथ कारबाही गरिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले सही सूचना प्रवाहमा सहयोग गर्न सञ्चारमाध्यम तथा सरोकारवाला पक्षसँग पनि आग्रह गरेको छ ।

प्रशासनले बजारको अवस्थाबारे नियमित खबरदारी र समन्वयबाट उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्ने बताएको छ ।