काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनका अनुसार आयोगमा पठाइएका नामहरू अहिले प्रस्तावित सूचीका रूपमा मात्रै रहेको र निर्वाचन आयोगबाट अन्तिम रूपमा रुजु नभएसम्म सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।

प्रवक्ता झाले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले क्लस्टरअनुसार नाम सिफारिस गरिएको बताए ।

उनका अनुसार खस आर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, दलित समुदायबाट ८ जना, मुस्लिम समुदायबाट ३ जना, मधेसी समूहबाट ९ जना र थारु समुदायबाट ४ जनाको नाम आयोगमा पठाइएको छ ।

समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार राजनीतिक दलहरूले प्राप्त मतका आधारमा विभिन्न समुदायबाट सांसद चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार रास्वपाले पनि समावेशी प्रतिनिधित्व कायम गर्ने गरी सूची तयार पारेर निर्वाचन आयोगमा पठाएको जनाएको छ ।

निर्वाचन आयोगले दलहरूले पठाएका नामहरू कानुनी प्रावधानअनुसार मिलान गरी अन्तिम स्वीकृति दिएपछि मात्र सांसदहरूको नाम सार्वजनिक हुने बताइएको छ ।