नगरसभा नहुँदा कमला नगरपालिकामा विकास ठप्प, शिक्षक आन्दोलनले पठनपाठन प्रभावित

जनकपुरधाम, ३० फागुन । धनुषाको कमला नगरपालिकामा चालु आर्थिक वर्षको बजेट अझै पारित हुन नसक्दा विकास निर्माणका कामदेखि सेवा प्रवाहसम्म प्रभावित भएको छ ।
जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण नगरसभा हुन नसक्दा आठ महिना बितिसक्दा पनि बजेट आउन नसकेको हो ।
नगरसभा नहुँदा बजेट ल्याउन नसकिएकोले नगरपालिकाको अधिकांश विकास आयोजना ठप्प बनेका छन् । सडक, पूर्वाधार तथा अन्य विकास निर्माणका योजना कार्यान्वयन हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् भने विभिन्न कार्यालयमा सेवा प्रवाह समेत प्रभावित भएको छ ।
बजेट अभावको प्रत्यक्ष असर शिक्षाक्षेत्रमा देखिएको छ ।नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षकले आठ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
नगरपालिकाभित्र रहेका पाँच माध्यमिक विद्यालय, दुई निम्न माध्यमिक विद्यालय र दश प्राथमिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण करिब सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
शिक्षकहरूले विगतमा नगरपालिकासँग भएको सहमतिअनुसार आठ महिनाको बक्यौता तलबभत्ता एकमुष्ट भुक्तानी गर्नुपर्ने तथा नियमित तलबको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने अडान शिक्षकहरूले लिएका छन् ।
जनहित माध्यमिक विद्यालय माची झिटकैयाका प्रधानाध्यापक जगन्नाथ यादवका अनुसार नगरपालिकाले लामो समयदेखि तलबभत्ता उपलब्ध नगराउँदा शिक्षकहरू आर्थिक रूपमा समस्यामा परेका छन् ।
‘पहिले भएको सहमतिअनुसार बक्यौता तलबभत्ता भुक्तानी गरिनुपर्छ, अन्यथा विद्यालय सञ्चालन गर्न गाह्रो हुन्छ,’ उनले भने ।
बजेट अभावका कारण शिक्षक मात्र नभई स्वास्थ्य, कृषि, वडा कार्यालय तथा अन्य शाखामा कार्यरत कर्मचारीहरू पनि प्रभावित भएका छन् ।
विभिन्न कार्यालयका कार्यक्रम तथा योजनाहरू कार्यान्वयन हुन नसक्दा सेवा प्रवाह कमजोर बनेको स्थानीयहरूको गुनासो छ । यता, सामाजिक सुरक्षा भत्ता वितरणसमेत प्रभावित भएको छ ।
नगरपालिकाका करिब ९ हजार ५ सयभन्दा बढी लाभग्राहीले आठ महिनादेखि भत्ता पाउन सकेका छैनन् । नियमित रूपमा प्रत्येक तीन महिनामा वितरण गरिनुपर्ने भत्ता लामो समयदेखि नपाउँदा ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लाभग्राही समस्यामा परेका छन् ।
कमला नगरपालिका–लगमाका ७२ वर्षीय गङ्गाई ठाकुरले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरे । ‘नियमित रूपमा पाउनुपर्ने भत्ता नपाउँदा दैनिक खर्च धान्न पनि समस्या भइरहेको छ,’ उनले भने ।
नगर उपप्रमुख शिलादेवी मण्डलले नगर प्रमुखले नगरसभा नबोलाउँदा बजेट पारित हुन नसकेको बताइन् । उनका अनुसार नगरसभा बोलाउन आफूले पटक–पटक आग्रह गरे पनि नगरप्रमुखबाट पहल नभएको दाबी छ ।
तर, नगर प्रमुख विशेश्वर यादवले भने आइतबार नगरसभासम्बन्धी बैठक बोलाइएको जानकारी दिएका छन् । उनले उक्त बैठकबाट नगरसभाको मिति तय गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाइने बताए ।
साविक हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट र माची झिटकैयालगायत ६ वटा गाविस मिलेर बनेको कमला नगरपालिकामा नौ वटा वडा रहेका छन् ।
करिब ४२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्ने यस नगरपालिकामा चालु आर्थिक वर्षको बजेट पारित हुन नसक्दा प्रशासनिक र विकास गतिविधि ठप्प जस्तै बनेको छ ।
धनुषाका १८ स्थानीय तहमध्ये १७ वटाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् भने कमला नगरपालिका मात्र अझै बजेटविहीन अवस्थामा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


