प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं, ३० फागुन । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल मतमध्ये करिब ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा उक्त प्रतिशतमा मत बदर भएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले उपलब्ध गराएको विवरणअनुसार यसपटक बदर मतको अनुपात अघिल्ला प्रतिनिधिसभा निर्वाचनहरूको तुलनामा केही घटेको देखिएको छ ।
उनका अनुसार २०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बदर मत ५.१८ प्रतिशत पुगेको थियो । त्यस्तै, २०७० साल मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको तथ्यांक आयोगसँग रहेको छ ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको थियो । यस आधारमा हेर्दा पछिल्ला पाँच वटा राष्ट्रिय निर्वाचनमध्ये यसपटक बदर मतको प्रतिशत औसतभन्दा केही कम देखिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार मतदाता शिक्षा कार्यक्रम, मतदान प्रक्रिया सम्बन्धी जनचेतना र मतपत्र प्रयोगको अभ्यासले पनि बदर मत घटाउन सहयोग पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, अझै पनि मतदाताले मतदान गर्दा मतपत्र सही तरिकाले प्रयोग नगर्दा वा एकभन्दा बढी स्थानमा चिन्ह लगाउँदा मत बदर हुने समस्या कायम रहेको आयोगको भनाइ छ ।
आयोगले आगामी निर्वाचनहरूमा बदर मत अझ घटाउन मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरिएको पनि जनाएको छ ।
निर्वाचन प्रक्रियालाई सहज, स्पष्ट र मतदातामैत्री बनाउने प्रयासलाई आगामी दिनमा थप सुदृढ गरिने आयोगको भनाइ छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


