काठमाडौं, ३० फागुन । कतारबाट नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई दोहास्थित नेपाली दूतावासले आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ ।

दूतावासले शनिबार एक सूचना जारी गर्दै मध्यपूर्वमा देखिएको वर्तमान परिस्थितिका कारण कतारबाट सिधा नेपाल उडान गर्न कठिनाइ हुन सक्ने भएकाले वैकल्पिक मार्गबाट यात्रा गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

दूतावासका अनुसार हाल साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने अवस्था रहेकाले कतारमा बसोबास गरिरहेका वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकहरूलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।

नेपाल फर्कन चाहने नेपालीहरूले दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्नुपर्ने दूतावासले स्पष्ट पारेको छ ।

यो प्रक्रिया पूरा गरेपछि साउदी अरेबियाको ट्रान्जिट प्रयोग गरी नेपाल फर्कन सकिने बताइएको छ ।

दूतावासले सम्बन्धित व्यक्तिहरूलाई समयमै प्रक्रिया अघि बढाउन आग्रह गर्दै थप जानकारीका लागि भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिका कारण विदेशमा रहेका नेपालीहरूको आवागमन व्यवस्थापनलाई सहज बनाउन दूतावासले आवश्यक समन्वय गरिरहेको पनि सूचनामा उल्लेख गरिएको छ ।