उपभोक्ताको भीडले जनकपुरधाममा ग्यास वितरण प्रभावित, आपूर्ति सामान्य रहेको दाबी

जनकपुरधाम, ३० फागुन । जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको वास्तविक अभाव नभए पनि उपभोक्ताहरूमा फैलिएको त्रास र आतिँदो व्यवहारका कारण बजारमा कृत्रिम समस्या देखिन थालेको ग्यास व्यवसायीहरूले बताएका छन् ।
ग्यास व्यवसायी संघका पूर्वअध्यक्ष सोगारथ पण्डितले उपभोक्ताहरूले आवश्यकता भन्दा बढी सिलिन्डर जम्मा गर्न थालेपछि आपूर्ति प्रणालीमा असहजता देखिएको बताएका हुन् ।
पूर्वअध्यक्ष पण्डितका अनुसार जनकपुरधामसहित धनुषा जिल्लामा ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको छ । तर, पछिल्लो समय विभिन्न अफवाह र अभावको आशंकाका कारण उपभोक्ताहरू एकैपटक धेरै सिलिन्डर लिन खोज्दा बजारमा अस्थायी दबाब सिर्जना भएको उनले बताए ।
‘ग्यासको आपूर्ति रोकिएको वा अभाव भएको अवस्था छैन,’ पण्डितले भने, ‘तर, उपभोक्ता आतिएर एकैपटक दुई–तीन सिलिन्डर लिने प्रयास गर्दा बजारमा ग्यास कम भएको जस्तो देखिएको हो ।’
उनले ग्यास उद्योग र डिलरमार्फत जनकपुरधाममा नियमित रूपमा ग्यास आइरहेको जानकारी दिँदै अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेका छन् ।
‘आपूर्ति सहज छ, सबैले आवश्यकताअनुसार मात्र ग्यास लिए बजारमा कुनै समस्या हुँदैन,’ उनले थपे ।
पण्डितले केही दिनयता ग्यास अभाव हुनसक्ने भन्ने चर्चा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलिँदा उपभोक्तामा त्रास बढेको बताए । यसले गर्दा सामान्य अवस्थामा रहेको बजारमा एक्कासी माग बढेको र डिलरहरूमा लाइन लाग्ने अवस्था देखिएको उनको भनाइ छ ।
उनका अनुसार ग्यास वितरण प्रणाली नियमित चक्रमा चलिरहेकाले दीर्घकालीन अभावको कुनै कुरा छैन । तर, उपभोक्ताको असामान्य मागले वितरणमा अस्थायी असहजता ल्याउन सक्छ । त्यसैले सबै उपभोक्ताले संयमता अपनाउनुपर्ने उनले बताए ।
पूर्वअध्यक्ष पण्डितले सरकारले पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याए । साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने प्रयास भए कडा कारबाही गर्नुपर्ने उनको सुझाव छ ।
स्थानीय ग्यास व्यवसायीहरूका अनुसार हाल जनकपुरधामका अधिकांश डिलरहरूमा ग्यास आइरहेकाले वास्तविक अभाव नभए पनि उपभोक्ताको भीडका कारण केही स्थानमा अस्थायी रूपमा सिलिन्डर सकिने अवस्था देखिएको छ ।
ग्यास व्यवसायीहरूले उपभोक्तालाई धैर्यतापूर्वक आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न अनुरोध गरेका छन् ।
उनीहरूका अनुसार यस्तो व्यवहार कायम रहेमा बजारमा देखिएको समस्या स्वतः समाधान हुने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


