ग्यास अभावले जनकपुरधामका आवासीय विद्यालय प्रभावित, समाधान गर्न एन–प्याब्सनको आग्रह

जनकपुरधाम, ३० फागुन । खाना पकाउने एलपीजी ग्यासको अभावका कारण जनकपुरधामका आवासीय (होस्टेलसहित सञ्चालनमा रहेका) विद्यालयहरूको दैनिक सञ्चालन प्रभावित हुन थालेको छ ।
विद्यार्थीका लागि दैनिक खाना पकाउन कठिनाइ भएपछि विद्यालय प्रशासन चिन्तित बनेका छन् ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन एन–प्याब्सन जनकपुरधाम नगर समितिले ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
एन–प्याब्सन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले ग्यास अभावले विशेषगरी होस्टेल सञ्चालन गर्ने विद्यालयहरूमा गम्भीर समस्या उत्पन्न भएको बताए ।
उनका अनुसार आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि बिहान, दिउँसो र बेलुका नियमित रूपमा खाना तयार गर्नुपर्ने भएकाले ग्यासको निरन्तर आपूर्ति अत्यन्त आवश्यक हुन्छ ।
अध्यक्ष ठाकुरले भने, ‘पछिल्ला केही दिनदेखि ग्यासको आपूर्ति नियमित हुन नसक्दा आवासीय विद्यालयहरू निकै समस्यामा परेका छन् । विद्यार्थीहरूको खानपानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सामान्य रूपमा लिन मिल्दैन । सरोकारवाला निकायले तत्काल ध्यान दिएर ग्यास आपूर्ति सहज बनाइदिनु आवश्यक छ ।’
उनका अनुसार जनकपुरधामका धेरै निजी विद्यालयहरूमा सयौं विद्यार्थी होस्टेलमा बस्दै अध्ययन गरिरहेका छन् । ग्यास अभाव लम्बिँदै गएमा विद्यालयहरूले वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
एन–प्याब्सन जनकपुरधामले विद्यार्थीहरूको पढाइ र दैनिक जीवन प्रभावित नहोस् भन्ने उद्देश्यले स्थानीय प्रशासन, आपूर्तिसम्बन्धी निकाय तथा ग्यास डिलरहरूलाई ग्यास वितरणलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।
‘विद्यार्थीको स्वास्थ्य र नियमित पठनपाठनमा असर नपरोस् भन्ने हाम्रो मुख्य चिन्ता हो,’ अध्यक्ष ठाकुरले थपे, ‘यसैले सम्बन्धित निकायले विद्यालयहरूलाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति व्यवस्थापन गरिदिनुपर्छ ।’
स्थानीय विद्यालय सञ्चालकहरूका अनुसार पछिल्लो समय बजारमा ग्यास सिलिन्डर पाउन कठिन हुन थालेपछि विद्यालयहरूलाई दैनिक भोजन व्यवस्थापन गर्न समस्या भइरहेको छ ।
केही विद्यालयहरूले अस्थायी रूपमा दाउरा वा अन्य विकल्प प्रयोग गर्ने तयारी गरिरहेका छन् । तर, त्यो दीर्घकालीन समाधान नभएको उनीहरूको भनाइ छ ।
एन–प्याब्सन जनकपुरधामले ग्यास आपूर्ति समस्या तत्काल समाधान नभए आवासीय विद्यालयहरूको सञ्चालन थप प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ ।
विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै सरोकारवाला सबै पक्षलाई समन्वय गरी समस्या समाधान गर्न संगठनले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


