मधेशले आफ्ना समस्या आफैं समाधान गर्ने अवस्था बनोस्: मुख्यमन्त्री यादव

जनकपुरधाम, ३० फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीय व्यवस्थाको पूर्ण कार्यान्वयन भए मधेशका नागरिकले आफ्नो अधिकारका लागि बारम्बार काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुने बताएका छन् ।
उनले यस्तो अवस्था सिर्जना गर्न संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँड र व्यवहारिक संघीयता आवश्यक रहेको बताएका हुन् ।
मुख्यमन्त्री यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै मधेशका जनतालाई अधिकार प्राप्तिका लागि राजधानी धाउनुपर्ने बाध्यता हट्नुपर्ने धारणा व्यक्त गरे ।
उनले संघीयता लागू भएको यतिका वर्ष बितिसक्दा पनि प्रदेशहरू अझै धेरै अधिकारका लागि संघीय सरकारतर्फ हेर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी यस्तो नेपाल बनाउन चाहन्छौँ जहाँ मधेशका नागरिक काठमाडौं अधिकार माग्न होइन, घुम्न मात्रै जाऊन् । स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार र स्रोत उपलब्ध गराउनु नै संघीयताको मर्म हो ।’
मुख्यमन्त्री यादवका अनुसार संघीय व्यवस्थाको उद्देश्य नै जनताको नजिक सरकार पुर्याउनु हो । तर, व्यवहारमा अझै पनि धेरै नीति, योजना तथा बजेट सम्बन्धी निर्णयहरू केन्द्रमै सीमित हुँदा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको उनले बताए ।
उनले मधेश प्रदेशले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा सुधार ल्याउन विभिन्न कार्यक्रम अघि बढाएको पनि बताए । तर, आवश्यक अधिकार र स्रोत पर्याप्त नहुँदा अपेक्षाअनुसार परिणाम दिन कठिन भइरहेको उनको भनाइ छ ।
‘प्रदेश सरकारलाई संवैधानिक रूपमा दिइएका अधिकारहरू व्यवहारमा कार्यान्वयन भएमा प्रदेशले आफ्नै स्तरमा धेरै समस्या समाधान गर्न सक्छ,’ उनले भने ।
मुख्यमन्त्री यादवले संघीयतामाथि बारम्बार प्रश्न उठाइने विषयप्रति पनि प्रतिक्रिया दिए । उनका अनुसार संघीयता असफल भएको होइन, बरु त्यसको पूर्ण कार्यान्वयन हुन बाँकी छ । उनले संघीय संरचनालाई अझ प्रभावकारी बनाउन केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास र समृद्धिका लागि नयाँ बन्ने संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हाम्रो लक्ष्य अधिकारको मागमा समय खर्च गर्नु होइन, विकास र समृद्धिमा ध्यान केन्द्रित गर्नु हो । त्यस दिन मधेशका जनता काठमाडौं अधिकार माग्न नभई घुम्न मात्र जानेछन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


