जनकपुरधाम, ३० फागुन । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन जनकपुरधामको व्यस्त रामानन्द चोकमा जडान गरिएको सडक डिभाइडर अहिले जोखिममा परेको छ ।

ट्राफिक प्रहरीले सडक डिभिजन कार्यालयको सहयोगमा जडान गरेको उक्त डिभाइडरमा छाडा चौपायाले जीउँ तथा घाँटी कनाउने गरेपछि यसको दीर्घकालीन टिकाउपनामाथि प्रश्न उठ्न थालेको हो ।

जनकपुरधामको प्रमुख र अत्यन्तै व्यस्त चोकमध्ये एक मानिने रामानन्द चोकमा सवारी साधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ । बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक डिभिजन कार्यालयसँग समन्वय गर्दै चोकमा सडक डिभाइडर जडान गर्ने पहल गरेको थियो ।

उक्त डिभाइडरले सवारी साधनलाई व्यवस्थित रूपमा लेनमा चल्न सहयोग पुर्‍याउने र दुर्घटनाको सम्भावना कम गर्ने विश्वास गरिएको थियो । तर, जडान गरिएको केही समयमै उक्त संरचना छाडा चौपायाको कारण क्षतिग्रस्त हुने जोखिममा परेको छ ।

स्थानीयका अनुसार चोक आसपास क्षेत्रमा घुम्ने गाई, गोरु लगायतका चौपायाले पोलमा जीउँ र घाँटी कनाउने क्रममा डिभाइडर हल्लिने तथा बिग्रने सम्भावना बढेको छ । कतिपय स्थानमा पोलहरू ढल्किन थालेको समेत स्थानीयले बताएका छन् ।

स्थानीय व्यवसायी तथा सर्वसाधारणले सडक व्यवस्थापन सुधारका लागि गरिएको प्रयास सकारात्मक भए पनि छाडा चौपायाको व्यवस्थापन नभएसम्म यस्ता संरचना दीगो हुन कठिन हुने बताएका छन् । उनीहरूले नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर थापाले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुधारात्मक कामहरू गरिरहेको बताए । उनका अनुसार रामानन्द चोकमा जडान गरिएको डिभाइडरले सवारी आवागमनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याएको भए पनि चौपायाको गतिविधिले समस्या सिर्जना गरिरहेको छ ।

‘सडक सुरक्षा सुधारका लागि विभिन्न स्थानमा यस्ता संरचना जडान गरिएको छ । तर, छाडा चौपायाले पोलमा जीउँ कनाउने गरेपछि संरचनामा असर पर्ने देखिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायसँग समन्वय गरेर यसको संरक्षणका उपाय खोज्ने प्रयास भइरहेको छ ।’

ट्राफिक प्रहरीले पछिल्लो समय जनकपुरधामका विभिन्न व्यस्त चोक तथा सडकखण्डमा ट्राफिक व्यवस्थापन सुधारका लागि संकेतचिन्ह, डिभाइडर, रिफ्लेक्टिभ उपकरण जडान गर्ने लगायतका काम अघि बढाएको छ । यसले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको ट्राफिक प्रहरीको दाबी छ ।

यद्यपि सडक सुरक्षाका लागि बनाइएका संरचनाको संरक्षण र प्रभावकारिता सुनिश्चित गर्न स्थानीय निकाय, ट्राफिक प्रहरी तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

छाडा चौपायाको व्यवस्थापन नगरेसम्म सडक सुरक्षाका यस्ता प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसक्ने उनीहरूको भनाइ छ ।