ग्यास अभावबारे मानव अधिकार आयोगको चासो

काठमाडौं, २९ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।
हाल ग्यास अभाव भएको भन्ने समाचार सार्वजनिक भएपछि उपभोक्तामा उत्पन्न चिन्ता र त्रासप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगका सहप्रवक्ता तथा उपसचिव श्यामबाबु काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण ग्यास आपूर्ति प्रभावित भएको भन्ने समाचार सार्वजनिक भएपछि आयोगले त्यसबारे अनुगमन तथा अवलोकन गरेको जानकारी दिएका छन् ।
आयोगका अनुसार नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ग्यास बिक्री वितरण गर्ने विभिन्न डिपोहरूको अवस्थाबारे अध्ययन गरिएको थियो ।
अनुगमनका क्रममा आपूर्तिमा केही कमी देखिए पनि सञ्चारमाध्यममार्फत समग्र आपूर्ति व्यवस्थापनमै समस्या भएको सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको पाइएको आयोगले जनाएको छ ।
त्यसैगरी केही व्यवसायीले समेत कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको तथ्य फेला परेको आयोगको दाबी छ । आयोगका अनुसार यस्तो गतिविधिले उपभोक्ताको अधिकारमाथि असर पार्ने देखिएको छ ।
विज्ञप्तिमा नेपालको संविधानको धारा ४४, उपभोक्ता संरक्षण ऐन २०७५ तथा नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ ले उपभोक्तालाई प्रदान गरेको अधिकारको प्रयोगमा अवरोध उत्पन्न भएको संकेत देखिएको उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा आयोगले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सहज बनाउन सबै आवश्यक उपाय अपनाउन सरकारलाई निर्देशन दिएको छ ।
साथै कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति वा व्यवसायीलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण रोक्न तथा अत्यावश्यक वस्तुको आपूर्ति तत्काल सुनिश्चित गरी उपभोक्ताको अधिकार संरक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


