नारायणी रंगशालाको पुनर्निर्माण सुरु

पर्सा, २९ फागुन । पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको पुराना संरचना हटाउँदै नयाँ निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुले पहिलो चरणअन्तर्गत रंगशालाभित्र रहेका पुराना तथा जीर्ण ८८ वटा प्याराफिटहरू डोजर प्रयोग गरेर भत्काउने काम सुरु गरिएको जानकारी दिए । ती संरचनाहरू हटाएपछि नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको उनले बताए ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । सोही बजेट निकासा भएपछि प्रारम्भिक निर्माण कार्य अघि बढाइएको अध्यक्ष कानुको भनाइ छ ।
उनका अनुसार तत्कालीन कानुनमन्त्री अजय चौरसियाको पहल तथा तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको समन्वयमा बजेट व्यवस्था गरिएको थियो ।
हाल उपलब्ध बजेटबाट प्रारम्भिक चरणका काम मात्रै सम्पन्न गरिने बताइएको छ । रंगशालाको पूर्ण मर्मत तथा स्तरोन्नतिका लागि थप बजेट आवश्यक पर्ने अध्यक्ष कानुले बताए ।
पहिलो चरणको काम सम्पन्न भएपछि नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेट माग गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
यसैबीच, मधेश प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरेको छ ।
त्यसैले प्रदेश सरकारबाट पनि थप आर्थिक सहयोगका लागि पहल गरिने योजना रहेको छ ।
करिब ३५ हजार दर्शक क्षमता रहेको नारायणी रंगशाला लामो समयदेखि मर्मत अभावका कारण जीर्ण अवस्थामा पुगेको थियो ।
विगतमा यहाँ राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने गरे पनि पछिल्ला वर्षहरूमा संरचना कमजोर बन्दै गएपछि ठूला प्रतियोगिता सञ्चालन हुन सकेका थिएनन् ।
रंगशालाको पुनर्निर्माणको माग गर्दै खेलाडी तथा खेलप्रेमीहरूले करिब एक दशकदेखि दबाबमूलक आन्दोलन गर्दै आएका थिए । संघीय र प्रदेश संसदमा पनि यो विषय पटक–पटक उठ्दै आएको थियो ।
इतिहास अनुसार २०३८ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा १७ बिघा १० कट्ठा जग्गा खरिद गरी रंगशाला निर्माण प्रक्रिया सुरु गरिएको थियो । २०४२ सालमा निर्माण सम्पन्न भएको उक्त रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


