जनकपुरधाम, २९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार राम पल्टन साहले पार्टी सभापति गगन कुमार थापाले राजीनामा दिनु उपयुक्त नहुने बताएका छन् ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई स्थिर र सुदृढ बनाउँदै अघि बढाउन थापाको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

साहले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक इतिहासमा परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।

वर्तमान समयमा संघीय व्यवस्थाको संस्थागत विकास, राजनीतिक स्थायित्व र सुशासनका लागि जिम्मेवार तथा दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढेको उनको भनाइ छ ।

उनका अनुसार विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनु समयको माग र राजनीतिक परिस्थितिको परिणाम हो । देशमा नयाँ नेतृत्व, नयाँ सोच र नयाँ राजनीतिक संस्कारको माग बढिरहेका बेला स्वच्छ छवि भएका युवा नेतृत्वलाई जिम्मेवारी दिनु अपरिहार्य बनेको उनले बताएका छन् ।

साहले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित नतिजा प्राप्त गर्न नसके पनि पार्टीले आफ्नो राजनीतिक उपस्थिति कायम राख्न सफल भएको उल्लेख गरेका छन् ।

निर्वाचनको परिणाम एक व्यक्तिको कारणले मात्र तय नहुने भन्दै उनले चुनावी सफलता वा असफलता संगठनको अवस्था, आन्तरिक एकता, रणनीति र समग्र राजनीतिक परिस्थितिसँग सम्बन्धित हुने बताए ।

उनले पार्टीभित्र कतिपय स्थानमा आन्तरिक असन्तुष्टि, प्रतिस्पर्धा र समन्वयको अभाव देखिएको पनि स्वीकार गरेका छन् । यस्ता कारणले केही निर्वाचन क्षेत्रमा संगठनात्मक एकता कमजोर भएको उनले बताएका छन् ।

विज्ञप्तिमा उनले सभापति थापाले नेतृत्व सम्हालेको छोटो अवधिमा पार्टीलाई पूर्णरूपमा रूपान्तरण गर्ने पर्याप्त समय नपाएको पनि उल्लेख गरेका छन् । अहिलेको अवस्थामा नेतृत्व परिवर्तनको माग गर्नु उचित नहुने उनको धारणा छ ।

‘यदि सभापति थापाले राजीनामा दिनुभयो भने पार्टीभित्र शक्ति शून्यता उत्पन्न हुन सक्छ । यसले संगठनात्मक स्थायित्वलाई कमजोर बनाउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

साहले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसलाई ‘नेपाली कांग्रेस 2.0’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको पनि बताएका छन् ।

पारदर्शिता, उत्तरदायित्व, समावेशिता र युवा सहभागितामा आधारित संगठन निर्माण गर्न पार्टी अघि बढिरहेको उनले उल्लेख गरेका छन् ।

यसैबीच उनले २०८२ को आम निर्वाचनमा पराजित भए पनि जनतासँगको सम्बन्धलाई निरन्तरता दिइरहेको बताएका छन् । धनुषा क्षेत्र नम्बर–१ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव र अपेक्षा सुन्ने अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिएका छन् ।

साहले निर्वाचनमा जित नआए पनि जनताप्रतिको आफ्नो दायित्व समाप्त नभएको भन्दै आगामी दिनमा पनि जनताका समस्या समाधानका लागि वकालत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।