रौतहट, २९ फागुन । रौतहटको वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाइएको छ । चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका ६ वटा अवैध घर तथा छाप्रा भत्काएर अतिक्रमण हटाइएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले उक्त अवैध संरचना हटाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन् ।

प्रमुख साहका अनुसार गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवसर पारेर केही स्थानीयले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेका थिए । सोही अतिक्रमण हटाउन वन कार्यालयको पहलमा अवैध संरचना भत्काइएको हो ।

वन कार्यालयले वन क्षेत्रको संरक्षणका लागि अतिक्रमणप्रति कडा नीति अपनाइने जनाएको छ । प्रमुख साहले कुनै पनि बहानामा वन अतिक्रमण सहन नदिइने स्पष्ट पार्दै वन क्षेत्रमा अवैध रूपमा घर निर्माण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।