सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

जनकपुरधाम, २९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभर सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री फैलाएको आरोपमा देशभरबाट ३७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निर्वाचनको निष्पक्षता र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले विभिन्न जिल्लामा गरिएको निगरानीका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदान सम्पन्न हुने दिनसम्म सामाजिक सञ्जालमा भ्रामक सूचना, गलत प्रचार र जनमतलाई प्रभावित पार्ने खालका सामग्री फैलाएको आरोपमा १५ जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूलाई फरक फरक मिति र स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो भने फागुन २१ गते देशभर मतदान भएको थियो । यही अवधिभर सामाजिक सञ्जालमा निगरानी बढाइएकाले भ्रम फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका छन् । काठमाडौँबाट मात्र १६ जनालाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिइएको केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिए । राजधानीमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या धेरै भएकाले यस्ता गतिविधि पनि बढी देखिएको प्रहरीले जनाएको छ ।
यस्तै, बाँकेबाट ४ जना र दाङबाट ३ जना पक्राउ परेका छन् । चितवन र सल्याणबाट २–२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, मकवानपुर, कास्की, रुपन्देही र अछामबाट एक–एक जना पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिहरूमाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रामक सूचना प्रवाह गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार निर्वाचन जस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिँदा मतदातामा भ्रम सिर्जना हुने, निर्वाचन प्रक्रियामाथि अविश्वास बढ्ने र शान्ति सुरक्षा प्रभावित हुन सक्ने भएकाले कडा निगरानी गरिएको थियो ।
प्रवक्ता काफ्लेले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न र अपुष्ट तथा भ्रामक सामग्री साझा नगर्न सबैलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालको दुरुपयोग गर्ने जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।
प्रहरीले आगामी दिनमा पनि सामाजिक सञ्जालको प्रयोगबारे निगरानी जारी राख्ने र गलत सूचना फैलाउने गतिविधिलाई नियन्त्रण गर्न थप कडाइ गरिने जनाएको छ । निर्वाचनको समयमा मात्र नभई अन्य संवेदनशील विषयमा पनि भ्रामक सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइने प्रहरीले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


