सिरहास्थित एक ‘ल फर्म’मा बम विस्फोट

सिरहा, २७ फागुन । सिरहाको जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा बुधबार साँझ बम विस्फोट भएको छ । विस्फोटमा परी एक जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासु पाठकका अनुसार साँझ करिब ५ बजेतिर मधेश ल फर्म परिसरमा बम विस्फोट भएको हो । विस्फोट हुँदा त्यहाँ कार्यरत सौरभ यादव सामान्य घाइते भएका छन् ।
विस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । घाइते यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले क्षेत्रलाई सुरक्षा घेरामा राखेर अनुसन्धान सुरु गरेको छ । बमको प्रकृति र घटनाबारे थप अध्ययन गर्न नेपाली सेनाको बम डिस्पोजल टोली समेत घटनास्थल पुगेको थियो ।
प्रहरीले विस्फोटको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


