सिरहा, २७ फागुन । सिरहाको औरही गाउँपालिका–५ स्थित एक पोखरीमा बुधबार अज्ञात महिलाको शव फेला परेको छ ।

स्थानीय बासिन्दाले पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ ।

मृतकको पहिचान खुलाउने र घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।