बारा, २७ फागुन । विदेशमा तेल उत्पादक देशहरूबीच देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लामा पेट्रोल पम्पहरूमा सवारीसाधनको अस्वाभाविक भीड देखिन थालेको छ ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास अभाव हुन सक्ने हल्ला फैलिन थालेपछि उपभोक्ताहरूले सवारीसाधनमा फुल ट्याङ्की इन्धन भर्ने होडबाजी गरेका छन् । विशेष गरी मोटरसाइकल चालकहरू पेट्रोल पम्पमा लामबद्ध भएर इन्धन भर्ने दृश्य सर्वत्र देखिएको छ ।

सामाजिक सञ्जाल र मोबाइल सन्देशमार्फत इरान, इराक, इजरायल र अमेरिकाबीचको द्वन्द्वका कारण नेपालमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै विभिन्न अफवाह फैलिएको छ ।

विदेशमा युद्धको समाचार सुनेपछि इन्धन अभाव हुन सक्ने डरले पेट्रोल भर्न आएको बारा जिल्लाको परवानीपुर गाउँपालिका–४ का ब्रमेश पटेलले मोबाइल सन्देशमार्फत यस्तो खबर फैलिएकाले समयमै इन्धन जोहो गर्न पेट्रोल पम्पमा आएको बताए ।

तर, नेपाल आयल निगम लिमिटेडको प्रादेशिक कार्यालय वीरगंजले भने इन्धन आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । कार्यालयका प्रमुख इन्जिनियर मोहनकुमार साहका अनुसार नेपालमा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको छ र अभाव हुने कुनै सङ्केत छैन ।

उनका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा रहेका १११ वटा पेट्रोल पम्पमार्फत दैनिक करिब ८० देखि ९० किलोलिटर पेट्रोल र १८० देखि २०० किलोलिटर डिजेल बिक्री हुँदै आएको छ । तर, पछिल्ला तीन–चार दिनयता सामान्य अवस्थाको तुलनामा इन्धन बिक्री झन्डै दोब्बरले बढेको उनले जानकारी दिए ।

इन्जिनियर साहले सामाजिक सञ्जालमा फैलिएको हल्ला, निर्वाचनको माहोल तथा लगातार सार्वजनिक बिदाका कारण इन्धनको माग केही बढेको देखिए पनि भण्डारण र आपूर्ति पर्याप्त रहेको बताउँदै उपभोक्तालाई आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।