पर्सा, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ ।

प्रत्यक्षतर्फ चारवटै सिट जितेको रास्वपा समानुपातिक मतमा समेत सबैभन्दा ठूलो दल बनेको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक मतगणनाअनुसार रास्वपाले १ लाख ३१ हजार २५६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।

अघिल्लो २०७९ सालको निर्वाचनमा भने पर्सामा रास्वपा समानुपातिकतर्फ ७ हजार ५५१ मतसहित छैटौँ स्थानमा मात्रै सीमित थियो ।

यस पटक प्रत्यक्षतर्फ चारै सिट गुमाएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा रहेको छ । कांग्रेसले ४१ हजार ३९८ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा एमालेले ३५ हजार ४५५ मत पाउँदै तेस्रो स्थानमा सीमित भएको छ ।

अन्य दलहरूको मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८ हजार ८८५ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार ७५२ मत पाएको छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ९९२ मत, राष्ट्र निर्माण दलले २ हजार २१६ मत, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५३९ मत र जनमत पार्टीले १ हजार ५३६ मत प्राप्त गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पर्सामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको थियो । त्यसबेला कांग्रेसले ६६ हजार ६७५ मत प्राप्त गरेको थियो भने एमालेले ४२ हजार ९७५ मतसहित दोस्रो स्थान हासिल गरेको थियो ।

जसपा नेपालले ३८ हजार ४२१ मत पाउँदै तेस्रो स्थान ओगटेको थियो । त्यसैगरी राप्रपाले २० हजार ८७३ मत, तत्कालीन नेकपा माओवादी केन्द्रले १३ हजार २७४ मत र रास्वपाले ७ हजार ५५१ मत प्राप्त गरेका थिए ।

यसैगरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पर्सा जिल्लामा समानुपातिकतर्फ जसपा नेपाल पहिलो दल बनेको थियो । उक्त निर्वाचनमा जसपाले ५३ हजार ८२१ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ५० हजार ५९२ मत र एमालेले २२ हजार १५६ मत पाएका थिए ।