जनकपुरधाम, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा–३ बाट भारी मतान्तरले विजयी भएका मनिष झाले आफ्ना निकटतम प्रतिस्पर्धी विमलेन्द्र निधिलाई भेट्ने भएका छन् ।

झाले राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्दै आफूभन्दा अग्रज नेता निधिसँग भेटेर आशीर्वाद तथा सुझाव लिन जाने बताएका छन् ।

उनका अनुसार उनले निधिसँग सम्पर्क गरी भेट्ने इच्छा व्यक्त गरेका थिए ।

‘मैले आफैँ उहाँलाई सम्पर्क गरेर भेट्न चाहेको भनें । उहाँले पनि आज साँझ भेट्ने समय दिनुभएको छ,’ उनले भने, ‘राजनीतिक संस्कारको उच्चतम अभ्यासस्वरूप उहाँसँग भेटेर आशीर्वाद लिन्छु र यस क्षेत्रका लागि गर्नुपर्ने कामबारे सल्लाह लिन्छु ।’

शुक्रबार अबेर राति निर्वाचन कार्यालय धनुषाले धनुषा–३ को अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । सार्वजनिक परिणामअनुसार झाले ४३ हजार ९८८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी निधिले भने १६ हजार ३३६ मत प्राप्त गरेका थिए ।