मौन अवधिमा सिरहादेखि धनुषासम्म ‘हाई भोल्टेज’ कारबाही, नगद र मतपत्रसहित उम्मेदवार नियन्त्रणमा

जनकपुरधाम, २० फागुन । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा मधेशका जिल्लाहरूमा सुरक्षा निगरानी कडा बनाइएका बेला सिरहामा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू नै नियन्त्रणमा परेका छन् ।
छुट्टाछुट्टै घटनामा नगद रकम र मतपत्र बरामद भएको दाबी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई नगद रकमसहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार नेपाल–भारत सीमा नाकास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा संयुक्त सुरक्षा टोलीले मध्यराति करिब १२ः३० बजे नियमित चेकजाँचका क्रममा रोकेको थियो । तलासीका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार उक्त सवारी साधनबाट मतपत्रसमेत फेला परेको दाबी गरिएको छ । गाडीमा सवार उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, अर्को घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका छन् । उनलाई कुन अभियोगमा नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
त्यसैगरी, धनुषा क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलका चालक तथा ज्वाइँ रमेश मण्डललाई सरकारी गाडी निजी प्रयोजनमा प्रयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मौन अवधिमा सरकारी सवारी साधन दुरुपयोग गरिएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
मौन अवधिमा उम्मेदवारहरू नै नियन्त्रणमा परेपछि सम्बन्धित निर्वाचन क्षेत्रहरूमा राजनीतिक हलचल बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन र निष्पक्ष मतदान सुनिश्चित गर्न सुरक्षा सतर्कता अझ कडा बनाइएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


