धनुषा–महोत्तरी सीमाक्षेत्रमा विस्फोट, सुरक्षा सतर्कता कडा

जनकपुरधाम, १९ फागुन । मधेश प्रदेशको धनुषा–महोत्तरी सीमास्थित रातोपुल क्षेत्रमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका छन् ।
घटनापछि पूर्वपश्चिम लोकमार्ग आसपास केही समय त्रासको अवस्था सिर्जना भएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासतर्फ पर्ने रातोपुल (महोत्तरी साइड) मा रातो टेपले बेरिएको दुई वटा शंकास्पद वस्तु फेला परेको थियो ।
स्थानीयका अनुसार पुलमा राखिएको वस्तु छुँदा अचानक विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विस्फोटमा कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि बर्दिवासतर्फ पठाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अर्को एक शंकास्पद वस्तु अझै फेला परेको भन्दै सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएका छन् । सर्वसाधारणको आवतजावत अस्थायी रूपमा रोक लगाइएको छ ।
प्रहरीका अनुसार बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको र उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइएको छ ।
यसअघि पनि मिथिला नगरपालिका–९ बडहरी पुल क्षेत्रमा यस्तै प्रकृतिको वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका थिए । पछिल्ला घटनाले स्थानीयवासीमा चिन्ता बढाएको छ ।
प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

