सर्लाहीस्थित मतदान केन्द्रका अधिकृतको आकस्मिक निधन

सर्लाही, १९ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको मंगलबार निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो । उनी सिनियर अहेबका रूपमा कार्यरत थिए र निर्वाचन ड्युटीका लागि उक्त मतदान केन्द्रमा खटिएका थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मतदान केन्द्रमै महतो अचानक बेहोस भएका थिए । त्यसपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याइएको करिब आधा घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत रहेका थिए । उनको निधनबारे अस्पतालबाटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको जनाइएको छ ।
घटना भएको जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्छ । मृत्युको यकिन कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने चिकित्सकहरूले बताएका छन् ।
शव हाल प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

