रौतहट, १९ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहटमा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएका छन् । चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेनाले बम डिस्पोजल टोलीसमेत खटाएको छ । संयुक्त सुरक्षा टोलीले सम्भावित संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती गरिरहेको प्रशासनले जनाएको छ ।

निर्वाचन स्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले जिम्मेवारी सम्हाल्नेछन् । तीनवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

जिल्लाका चार निर्वाचन क्षेत्रमा २७७ मतदान स्थलअन्तर्गत ५४१ मतदान केन्द्र तोकिएका छन् । कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेको रौतहटमा सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ । प्रशासनका अनुसार भारतबाट नेपालतर्फ आउने नेपाली नागरिकलाई भने नागरिकता परीक्षणपछि प्रवेश दिइने व्यवस्था मिलाइएको छ ।

समानुपातिकतर्फको मतदान व्यवस्थापनका लागि गौरस्थित जिल्ला अदालतको चौर, इलाका प्रहरी कार्यालय गौरको मैदान तथा कारागार मतदान स्थलमा छुट्टै व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको उल्लेख गर्दै सबै मतदातालाई निर्धक्क भई आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।