रौतहट, १९ फागुन । सोमबार साँझ प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचारप्रसारका क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी भाँचिएको चिकित्सकले बताएका छन् ।

रौतहट क्षेत्र नम्बर–३ अन्तर्गत गुजरा नगरपालिका–६ बेदौली गाउँमा सोमबार साँझ घरदैलो कार्यक्रम चलिरहेकै बेला घटना भएको हो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पार्टी अध्यक्ष प्रभु साहसहितको टोली घरदैलोमा व्यस्त रहेका बेला केही व्यक्तिहरूले डिजे बजाएर कार्यक्रम बिथोल्ने प्रयास गरेको जनाइएको छ ।

घाइते मन्सुरीका अनुसार सोही क्रममा विवाद बढ्दै जाँदा आफूले स्थिति सम्हाल्ने प्रयास गरेका थिए । ‘विपक्षी पार्टीका केही कार्यकर्ताले धक्का दिए । त्यसपछि एक अपरिचित युवकले टाढाबाट लौरो प्रहार गर्दा नाकमा लागेर म घाइते भएँ,’ उनले सञ्चारकर्मीसँग भने ।

घटनापछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको थियो । प्रहरी पुग्नासाथ आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू फरार भएका थिए । मन्सुरीको चन्द्रनिगाहपुरस्थित एक अस्पतालमा उपचार गरिएको र हाल उनी आफ्नै निवास गुजरामा आराम गरिरहेका छन् ।

मन्सुरीले आक्रमणमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । यद्यपि उक्त आरोपबारे सम्बन्धित दलहरूको प्रतिक्रिया आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै संलग्न व्यक्तिहरूको खोजी तथा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । मन्सुरीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।