बारा, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले बारा जिल्लामा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्वको सुरक्षा टोलीले जिल्लाभरका सबै मतदानस्थलको स्थलगत अनुगमन सम्पन्न गरेको जनाएको छ ।

प्रजिअ मिश्रका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा रहेका ३०५ मतदानस्थल तथा ५८७ मतदान केन्द्रको अनुगमन कार्य पूरा गरिएको छ । निर्वाचन प्रक्रिया नसकिएसम्म नियमित अनुगमन जारी राखिने र सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिने उनले जानकारी दिए ।

निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण तथा ओसारपसारमा पूर्ण कडाइ गरिएको छ । मतदान केन्द्र आसपास मादक पदार्थ निषेधसम्बन्धी सूचना टाँस गरिनुका साथै सर्वदलीय बैठकमार्फत पनि प्रतिबद्धता जनाइएको प्रशासनले जनाएको छ ।

फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै प्रजिअ मिश्रले सुरक्षाकर्मीहरू मतदान केन्द्रमा खटिइसकेको जानकारी दिए ।

‘निर्वाचनमा कुनै अवाञ्छित घटना नहोस् भन्ने उद्देश्यले सबै मतदान केन्द्रमा स्वयं पुगेर अनुगमन गरिएको हो,’ उनले भने ।

जिल्लामा ३६ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कुल ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । करिब ६२ किलोमिटर भारतीय सीमा क्षेत्रसँग जोडिएको बारा जिल्लामा सुरक्षा व्यवस्थापनका लागि एकीकृत सुरक्षा नीति लागू गरिएको छ ।

जिल्लामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन् । निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाएको छ ।