महोत्तरी, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले महोत्तरीस्थित भारतसँग जोडिएको भिठामोड सीमा नाका अस्थायी रूपमा बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गते मध्यरातदेखि नाका पूर्ण रूपमा सिल गरिएको हो ।

सुरक्षा निकायका अनुसार भारतीय सुरक्षा अधिकारीहरूसँग आवश्यक समन्वय र समझदारीपछि सीमा आवतजावतमा रोक लगाइएको हो । बन्द व्यवस्था फागुन २१ गते राति १२ बजेसम्म कायम रहने जनाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दुवै देशका सुरक्षा निकायबीच भएको सहमतिअनुसार सीमा नाकाबाट हुने आवतजावत अस्थायी रूपमा स्थगित गरिएको प्रहरीले स्पष्ट पारेको छ । बन्द अवधिभर एम्बुलेन्स, दमकल, शववाहन तथा अन्य अत्यावश्यक मानवीय सेवाबाहेक सबै प्रकारका सवारीसाधन र पैदल यात्रुहरूको आवागमनमा पूर्ण प्रतिबन्ध रहनेछ ।

खुला सीमाका कारण निर्वाचनका बेला हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न सीमावर्ती क्षेत्रमा सुरक्षा गस्ती र निगरानीसमेत तीव्र पारिएको छ । निर्वाचन अवधिभर सीमा सुरक्षालाई थप सुदृढ बनाउन विशेष सुरक्षा कार्ययोजना लागू गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यसैबीच, मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमामा सहभागी भई भारत फर्कने भारतीय श्रद्धालुहरूका लागि छुट्टै व्यवस्थापन गरिएको छ । परिक्रमा सम्पन्न गरी आजै भारत फर्कन चाहने श्रद्धालुहरूलाई वैकल्पिक मार्गबाट फर्काउने व्यवस्था मिलाइएको छ । तर, भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई भने पूर्ण रूपमा रोक लगाइएको सुरक्षा निकायले जनाएको छ ।