जनकपुरधाम, १९ फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषाका नेपाल–भारत सीमा नाकाहरू सोमबार मध्यरातदेखि सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार मतदान प्रक्रिया सम्पन्न नभएसम्म सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द रहनेछ ।

धनुषाको जटहीसहित प्रमुख सीमा नाकामा आवागमनमा रोक लगाइएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाल र भारतका सुरक्षा निकायबीच भएको समन्वय तथा सहमतिअनुसार सीमा सिल गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ ।

सीमा बन्द भएसँगै सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा निगरानी तथा जाँचलाई थप कडाइ गरेको छ । सीमावर्ती क्षेत्रमा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरी कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको बताइएको छ ।

प्रहरीका अनुसार नाका बन्द अवधिभर एम्बुलेन्स, दमकल, शववाहन तथा अन्य अत्यावश्यक र मानवीय सेवाबाहेक सबै प्रकारका सवारीसाधन तथा पैदल यात्रुहरूको आवागमनमा पूर्ण प्रतिबन्ध रहनेछ ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको जनाइएको छ ।