जनकपुरधाम, १९ फागुन । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाण पुष्टि भएपछि उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो ।

उनले कानुनी व्यवस्थाअनुसार आवश्यक जाँचपड्तालपछि निर्णय लिइएको स्पष्ट पारे ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार कर्जा सूचना केन्द्रको अद्यावधिक अभिलेखमा साह कमल निर्माण सेवा प्रालिका शेयरधनीका रूपमा देखिएका छन् ।

उक्त विवरणमा उनी २०८० सालदेखि कालोसूचीमा रहेको उल्लेख छ । साथै विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समावेश भएको पाइएको आयोगले जनाएको छ ।

निर्वाचन सम्बन्धी प्रचलित कानुनअनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य ठहरिने व्यवस्था रहेको छ । सोही आधारमा साहको उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ ।

यस निर्णयसँगै धनुषा–१ मा चुनावी समीकरणमा नयाँ तरंग आएको छ भने सम्बन्धित दलले आगामी रणनीतिबारे आन्तरिक छलफल थालेको जनाएको छ ।