जनकपुरधाम, १९ फागुन । मधेशको प्राचीन मिथिला सभ्यताको धार्मिक–सांस्कृतिक धरोहरका रूपमा परिचित मिथिला मध्यमा परिक्रमा १६औँ दिन अन्तरगृह (पञ्चकोशी) परिक्रमा सम्पन्न भएसँगै यस वर्षका लागि विधिवत् टुंगिएको छ ।

फागुन औँसीदेखि सुरु भएको १५ रात्रिविश्रामसहितको ऐतिहासिक यात्रा सोमबार मध्यरातपछि अन्तिम चरणमा प्रवेश गरेको थियो । १५औँ दिन जनकपुरधामस्थित रङ्गभूमि मैदानमा बास बसेका श्रद्धालुहरू मंगलबार बिहानै अन्तरगृह परिक्रमा पथमा निस्किएका थिए ।

हजारौँ श्रद्धालुहरू अटुट मानवपङ्क्तिका रूपमा परिक्रमा मार्गमा देखिएका थिए । परम्पराअनुसार १५ स्थानमा रात्रिविश्राम गरी १६औँ दिन पञ्चकोशी परिक्रमा पूरा गरेपछि मात्र मध्यमा यात्रा सम्पन्न भएको मानिन्छ ।

परिक्रमा समापनका क्रममा श्रद्धालुहरूले होलिका दहनपछि बाँकी रहेको खरानी उडाउँदै ‘धुरा उडाउने’ परम्परा निर्वाह गरे । आफ्नाभित्रका विकार–विकृति अन्त्य हुने कामनासहित अन्तरगृहको एक फन्को लगाएपछि उनीहरूले अन्त्यमा गङ्गासागर कुण्ड मा स्नान गरी परिक्रमा विधिवत् सम्पन्न गरेका छन् ।

मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्मको यात्रा गरे पनि पुण्य प्राप्त हुने जनविश्वासका कारण जनकपुरधाममा सर्वसाधारणको उल्लेख्य भीड देखिएको थियो । महोत्तरी, धनुषा लगायत आसपासका जिल्लाबाट आएका हजारौँ श्रद्धालु सहभागी बनेका थिए । स्थानीय प्रशासनले सुरक्षा, स्वास्थ्य सेवा र सरसफाइ व्यवस्थापनका लागि विशेष तयारी गरेको थियो ।

मधेशमा फागुन पूर्णिमापछि होली मनाउने परम्परा रहे पनि मध्यमा परिक्रमाको १३३ किलोमिटर वृत्तभित्र अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्र होली मनाइने चलन छ । यसअनुसार परिक्रमा क्षेत्रभित्र बुधबार होली पर्व मनाइने तयारी गरिएको छ ।

लोकविश्वासअनुसार त्रेतायुगमा श्रीराम र सीताले मिथिलाका विभिन्न भूभागमा विहार गरेको पदचाप पछ्याउँदै १८औँ शताब्दीमा मध्यमा परिक्रमा सुरु गरिएको मानिन्छ । धार्मिक दृष्टिले यो यात्रा कल्याण र मोक्ष प्राप्तिको कामनासहित गरिन्छ ।

१३३ किलोमिटरको वृत्त पूरा गर्ने यो परम्परागत यात्रा मिथिलाको धार्मिक पर्यटन, सामुदायिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित छ ।

यस वर्ष पनि श्रद्धालुहरूको उत्साह, अनुशासन र गहिरो आस्थाबीच जनकपुरधाम धार्मिक भावनाले ओतप्रोत बनेको थियो । अन्तरगृह परिक्रमा सम्पन्न भएसँगै मिथिला मध्यमा यात्रा औपचारिक रूपमा समापन भएको छ भने भोलिदेखि परिक्रमा क्षेत्रभित्र होली पर्वको उल्लास छाउनेछ ।

यता, होलीको भोलिपल्ट प्रतिनिधिसभा सदस्य पदको निर्वाचन हुने भएकाले प्रशासनले शान्तिपूर्ण वातावरण कायम राख्दै घरमै मर्यादित रूपमा होली मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तस्बिर र भिडियो: ज्योति झा