रौतहट, १७ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरियास्थित नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र तथा मतगणना स्थलको सभाकक्ष निरीक्षण गरेपछि निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुसालले १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको जानकारी दिँदै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे ।

उनले निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको छ । पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत नियमित गस्ती सञ्चालन भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै श्री नारायणदल गणले अत्याधुनिक सैनिक सवारी साधनसहित सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।

सेनाका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा एकैसाथ गस्ती परिचालन गरी सम्भावित जोखिम न्यूनीकरणमा सक्रियता बढाइएको छ ।

मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जनाएको छ ।

रौतहटका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वयमा संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको बताइएको छ ।

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी भुसालसहित नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास तथा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत अवधकिशोर कुशवाहा लगायत सुरक्षा निकाय र निर्वाचन कार्यालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रशासनले निर्वाचनको दिन मतदातालाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा मतदान गर्ने वातावरण सुनिश्चित गरिने विश्वास व्यक्त गरेको छ ।