जनकपुरधाम बजारमा जुलीको घरदैलो

जनकपुरधाम, १७ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं.–३ मा चुनावी माहोल तातिँदै जाँदा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले जनकपुरधाम बजार क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन् ।
मौन अवधि सुरु हुनुअघि अन्तिम चरणको प्रचारप्रसारअन्तर्गत आइतबार उनले बजारका विभिन्न टोल तथा व्यवसायिक क्षेत्रहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेकी हुन् ।
जनकपुरधामको मुख्य बजार क्षेत्रका व्यापारी, युवा तथा महिला समूहसँग भेटघाट गर्दै महतोले स्थायित्वसहितको विकासका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताइन् ।
‘क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण र योजनासहितको नेतृत्व चाहिन्छ,’ उनले भनिन्, ‘हामीले प्रतिबद्धता मात्रै नभई कार्यान्वयनको आधार पनि प्रस्तुत गरेका छौँ ।’
उनले विगतमा सञ्चालन भएका विकास योजनालाई निरन्तरता दिनुका साथै नयाँ पूर्वाधार निर्माण, बजार व्यवस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताइन् ।
जनकपुरधाम बजारको ट्राफिक व्यवस्थापन, ढल निकास, सडक स्तरोन्नति तथा साना व्यवसायीलाई सहुलियत कार्यक्रममार्फत सहयोग गर्ने योजना रहेको उनको भनाइ थियो ।
घरदैलोका क्रममा स्थानीयवासीबाट विभिन्न सुझाव प्राप्त भएको र ती सुझावलाई आगामी कार्ययोजनामा समेटिने महतोले प्रतिबद्धता जनाइन् ।
उनले विशेषगरी महिला सशक्तीकरण, युवालाई सीपमूलक तालिम र स्वरोजगार कार्यक्रममार्फत आत्मनिर्भर बनाउने योजनामा एमालेले प्राथमिकता दिएको उल्लेख गरिन् ।

महतोको अभियानमा पार्टीका स्थानीय नेता कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
बजार क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा एमालेको पक्षमा उत्साहजनक माहोल देखिएको दाबी गरिएको छ ।
मौन अवधि नजिकिँदै जाँदा धनुषा–३ मा उम्मेदवारहरूबीचको प्रतिस्पर्धा थप चर्किएको छ ।
जनकपुरधाम बजार केन्द्रित अभियानले चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो मतदातामाझ बढ्दै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


