जुलीकुमारी महतोको प्रतिबद्धता पत्र सार्वजनिक, अधुरा काम पूरा गर्ने अठोट

जनकपुरधाम, १७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा–३ बाट जुलीकुमारी महतोले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार महतोले आफू संकटको समयमा देशलाई निकास दिन हुने निर्वाचनमा धनुषाबाट एकमात्र महिला उम्मेदवार भएको उल्लेख गर्दै जनताको विश्वास र समर्थनका आधारमा पुनः उम्मेदवारी दिएको बताइन् ।
पत्रकार सम्मेलनमा उनले भनिन्, ‘देशको संविधान ट्रयाकभन्दा बाहिर पुगेको वर्तमान अवस्थामा त्यसलाई पुनः ट्रयाकमा ल्याउन, राजनीतिक स्थायित्व कायम गर्न र विकासलाई गति दिन यो निर्वाचन महत्वपूर्ण छ ।’
संविधान कार्यान्वयन र सुशासनलाई प्राथमिकतामा राख्दै आफू संसदमा पुगे देशको नीतिगत स्थिरताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महतोले आफ्नो अघिल्लो कार्यकालमा धनुषा–३ क्षेत्रमा थुप्रै विकासका काम अघि बढाएको दाबी गर्दै अझै धेरै काम अधुरा रहेको स्वीकार गरिन् ।
उनले विशेषगरी धनुषा–३ अन्तर्गतका ३८ वटै वडामा सडक पूर्वाधार विस्तार अधुरै रहेको उल्लेख गर्दै ती सबै सडक योजनालाई पूर्णता दिने आफ्नो पहिलो प्राथमिकता हुने बताइन् ।
‘गाउँ–टोल जोड्ने सडक, ढल, नाला र आधारभूत पूर्वाधार निर्माणबिना समृद्धि सम्भव छैन,’ उनले भनिन्, ‘अधुरा सडकहरू पूरा गरेर क्षेत्रलाई व्यवस्थित र सुगम बनाउने लक्ष्य लिएको छु ।’
महतोले जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई विश्वस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थल (Wedding Destination) का रूपमा विकास गर्न दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाइन् ।
उनका अनुसार विवाह, धार्मिक अनुष्ठान तथा सांस्कृतिक पर्यटनसँग जोडेर पूर्वाधार, होटल व्यवस्थापन, यातायात र सरसफाइ सुधार गरिनेछ ।
‘जनकपुरधामको पहिचान अन्तर्राष्ट्रिय स्तरमा विस्तार भयो भने स्थानीय रोजगारी र आर्थिक गतिविधि स्वतः बढ्छ,’ उनले भनिन् ।
मधेश प्रदेशमा धेरै उद्योग तथा कारखानाहरू बन्द अवस्थामा रहेको उल्लेख गर्दै महतोले औद्योगिक पुनर्जागरणको आवश्यकता औंल्याइन् ।
उनले औद्योगिक करिडोर निर्माण गरी बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने र नयाँ लगानी भित्र्याउने प्रतिबद्धता जनाइन् ।
‘युवा रोजगारीका लागि उद्योग आवश्यक छ । औद्योगिक करिडोर बनेमा उत्पादन, रोजगारी र राजस्व सबै बढ्छ,’ उनले भनिन् ।
महतोले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर बनेको भन्दै त्यसमा ठोस सुधार आवश्यक रहेको बताइन् ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षा विस्तार र स्वास्थ्य संस्थामा जनशक्ति तथा उपकरण व्यवस्थापन आफ्नो प्राथमिकतामा पर्ने उनको भनाइ थियो ।
साथै उनले राजर्षी जनक विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक सुधार आवश्यक रहेको उल्लेख गरिन् ।
‘विश्वविद्यालयलाई अनुसन्धानमुखी र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न पहल गर्नेछु,’ उनले भनिन् ।
महतोले आफूले विगतमा गरेको काम र जनतासँगको निरन्तर सम्पर्कका कारण पुनः उम्मेदवारी दिएको स्पष्ट पारिन् ।
‘जनताको विश्वास र माया नै मेरो शक्ति हो । अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर चाहन्छु,’ उनले भनिन् ।
उनले महिला नेतृत्वलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी महत्वपूर्ण भएको उल्लेख गर्दै समावेशी विकासका लागि सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा स्थानीय नेता कार्यकर्ता, सञ्चारकर्मी तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।
महतोले आफ्नो प्रतिबद्धता पत्रमार्फत धनुषा–३ लाई पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने खाका सार्वजनिक गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


