जनकपुरधाम, १७ फागुन । होरी पर्वको उल्लासमय वातावरणबीच जनकपुरधाममा आयोजित परम्परागत महामूर्ख सम्मेलन यस वर्ष पनि व्यंग्य, कला र सम्मानको अद्भुत संगमका रूपमा सम्पन्न भएको छ ।

मिथिला नाट्य कला परिषद्द्वारा आयोजना गरिएको दुई दिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन अन्तर्गत सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवलाई यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदान गरिएको हो ।

जानकी मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका र जनक मन्दिरको सह–आयोजनामा भव्य रूपमा आयोजना गरिएको थियो ।

रंग, अबीर र हास्यव्यंग्यले भरिएको समारोहमा सांस्कृतिक झाँकी, होरी गीत तथा कविताले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

सम्मेलनमा सभामुख यादवलाई पत्रकारिता, शिक्षा प्रवर्द्धन, सरसफाइ अभियान तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा आकर्षित गर्न पुर्‍याएको योगदानको कदरस्वरूप ‘महामूर्ख’को उपाधि प्रदान गरिएको परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्वअध्यक्ष प्रमेश झा तथा सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सम्मान ग्रहण गर्दै सभामुख यादवले व्यंग्यात्मक उपाधि भए पनि यसले समाजप्रतिको जिम्मेवारी अझ बढाएको उल्लेख गरे । उनले मिथिलाको मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न परिषद्ले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताए ।

विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरू सम्मानित
महामूर्ख सम्मेलनमा विभिन्न विधा र पेशामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई रोचक र व्यंग्यात्मक उपाधिसहित सम्मान गरिएको थियो ।

आधुनिक शिक्षामा योगदान दिएबापत राकेश कर्णलाई ‘वैशाखानन्द’,
मैथिली अभियानी विभा झालाई ‘तिलविखनी’, कानून व्यवसायी विपिन कुमार झालाई ‘लवरसट्का’, पत्रकार तथा साहित्यकार हिमांशु चौधरीलाई ‘जी हजुरिया’, कवि दिगम्बर झा दिनमणिलाई ‘पोना पण्डित, निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई ‘पटमूर्ख’, जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेलाई ‘मनतोरिया’,न्युरो सर्जन डा. विजय राउतलाई ‘विसखोपडा’, उद्योगपति प्रदीप चौधरीलाई ‘तरघुस्ता’, ह्यान्डबल खेलाडी पवन कर्णलाई ‘बज्रकिट’, सुन व्यवसायी पवन ठाकुरलाई ‘डपोरशंख’, मिथिला चित्रकार राजकुमारी मण्डललाई ‘तरघुस्की’, युवा लव अधिकारीलाई ‘लोढाशंकर’ तथा नेपाल टेलिभिजनका मैथिली समाचार सम्पादक एवम् वाचक दीपक कर्णलाई ‘लम्बोदर’ सम्मान प्रदान गरिएको थियो ।

कविता, नाटक र होरी गीतले भरिएको सांस्कृतिक साँझ
कार्यक्रममा दिगम्बर झा दिनमणि, पुनम झा मैथिली, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणि, प्रेम विदेह ललनलगायतका कविहरूले होरीको भाव र व्यंग्य समेटिएका कविता वाचन गरेका थिए ।

परिषद्का कलाकारहरूले ‘दोकान’ नाटक क्षणिका प्रस्तुत गर्दै समसामयिक सामाजिक विषयमा कटाक्ष गरेका थिए भने विभिन्न परम्परागत तथा आधुनिक होरी गीतहरूले वातावरणलाई झनै रंगीन बनाएका थिए ।

मिथिलाको सांस्कृतिक परम्परामा ‘महामूर्ख सम्मेलन’ हास्यव्यंग्यमार्फत समाजका प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गर्ने अनौठो परम्पराका रूपमा स्थापित हुँदै आएको छ ।

व्यंग्यात्मक उपाधि दिएर गरिने यो सम्मानलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र आपसी सद्भाव बढाउने माध्यमका रूपमा लिइन्छ ।

यस वर्षको सम्मेलनले पनि जनकपुरधाममा होरी पर्वलाई सांस्कृतिक उत्सवका रूपमा थप जीवन्त बनाएको छ ।