धनुषा–३ मा मौन अवधिपूर्व रास्वपाका मनिष झाको तीव्र घरदैलो

जनकपुरधाम, १७ फागुन । फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि मौन अवधि सुरु हुनुअगावै धनुषा निर्वाचन क्षेत्र नं.–३ मा उम्मेदवारहरूको चुनावी गतिविधि उत्कर्षमा पुगेको छ ।
अन्तिम दिनलाई लक्षित गर्दै दलहरूले घरदैलो, कोणसभा र मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।
यसैक्रममा, मनिष झा उम्मेदवार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोलीले क्षेत्रका विभिन्न गाउँटोलमा पुगेर चुनावी एजेण्डा प्रस्तुत गरेको छ ।
नगराइन नगरपालिका–६ स्थित लगमा पूर्वारी टोलमा आयोजित घरदैलो कार्यक्रममा झाले धनुषा–३ मा परिवर्तनको आवाज क्रमशः सशक्त बन्दै गएको दाबी गरे ।
‘मतदाताले अब काम गर्ने र परिणाम दिने नेतृत्व खोजिरहेका छन्,’ उनले भने, ‘पुराना शैली र वाचा दोहोर्याउने राजनीतिभन्दा काम र जवाफदेहितामा आधारित नयाँ संस्कार आवश्यक छ ।’
विगतका प्रतिनिधिबाट अपेक्षित विकास र पारदर्शिता नआएको भन्दै उनले मतदातामा निराशा बढेको उल्लेख गरे । यही पृष्ठभूमिमा नयाँ विकल्पप्रति आकर्षण बढिरहेको उनको भनाइ थियो ।
घरदैलो अभियानका क्रममा नागरिकबाट सकारात्मक सुझाव र समर्थन प्राप्त भइरहेको दाबी गर्दै झाले स्थानीय समस्या समाधानलाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको बताए ।
सडक स्तरोन्नति, कृषि उत्पादनको उचित बजारीकरण, युवाका लागि सीपमूलक तालिम तथा रोजगारी सिर्जना आफ्नो प्राथमिक एजेण्डा रहेको उनले स्पष्ट पारे ।
पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले सुशासन र प्रणाली सुधारलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाइने बताए ।
झाको चुनावी अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । सामाजिक सञ्जालमार्फत पनि उनको प्रचार टोली सक्रिय देखिन्छ ।
पछिल्लो समय स्थानीय तहका पूर्व जनप्रतिनिधि, युवा अभियन्ता तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू रास्वपामा आबद्ध हुन थालेपछि धनुषा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको विश्लेषण गरिएको छ ।
मौन अवधि सुरु हुनुअघि उम्मेदवारहरूले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न अन्तिम प्रयास गरिरहेका बेला धनुषा–३ मा चुनावी माहोल अझै तातिएको देखिन्छ । अब मतदाताको निर्णयले नै क्षेत्रको आगामी राजनीतिक दिशा तय गर्नेछ ।















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


