एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षामा नेपाली सेना प्रतिबद्ध

जनकपुरधाम, १७ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
रक्षा मन्त्रालय अन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले आइतबार दिउँसो जारी गरेको प्रेस विज्ञप्तिमा एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षाका सम्पूर्ण कार्य सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार निर्वाचनसम्बन्धी सुरक्षा व्यवस्थापन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४’ तथा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ बमोजिम अघि बढाइएको छ ।
मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, राजनीतिक दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेना सम्मिलित संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
नेपाली सेनाले वि.सं. २०४८ सालदेखि हालसम्म सम्पन्न सबै प्रतिनिधि सभा निर्वाचनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै मतपत्र छपाइ स्थलको सुरक्षा काठमाडौंबाट जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म पु¥याउने जिम्मेवारी सम्हाल्दै आएको स्पष्ट पारेको छ ।
सेनाले यसपटक पनि शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायहरूबीचको समन्वयलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै आम नागरिकलाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


