जनकपुरधाम, १६ फागुन । हलुवाई समाज सेवा समितिले पत्रकार संजयकुमार साहलाई कदरपत्रसहित सम्मान गरेको छ ।

समितिको शपथ ग्रहण, पद हस्तान्तरण तथा होली मिलन समारोहको अवसर पारेर साहलाई सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

समारोहमा बोल्दै समितिका पदाधिकारीहरूले पछिल्लो समय धनुषा जिल्लामा सक्रिय रूपमा पत्रकारिता गर्दै सामाजिक सरोकारका विषय उजागर गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनीहरूले पत्रकार साहले स्थानीय मुद्दा, विकास निर्माण, सुशासन तथा समुदायका आवाजलाई प्राथमिकताका साथ सञ्चारमाध्यममार्फत उठाउँदै आएको उल्लेख गरे ।

उक्त अवसरमा समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमसमेत सम्पन्न भएको थियो ।

अध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको आयोजकले जनाएको छ । कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समितिले आगामी दिनमा सामाजिक एकता, पेशागत सुदृढीकरण तथा सामुदायिक सेवामुखी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।