निधिलाई जिताउने अठोटसहित धनुषा–३ मा युवाहरू कांग्रेसमा प्रवेश

जनकपुरधाम, १६ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी तीव्र बन्दै गइरहेका बेला दर्जनौँ युवाहरू शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूले आगामी निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीमा औपचारिक प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न वडाबाट आएका युवाहरूले वर्तमान राजनीतिक अवस्था, विकास निर्माणको सुस्त गति र रोजगारीको अभावजस्ता समस्यालाई समाधान गर्न अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
उनीहरूले निधिको राजनीतिक अनुभव, राष्ट्रिय पहुँच र विकासप्रतिको प्रतिबद्धताका कारण आफूहरू कांग्रेसमा आबद्ध भएको बताए ।
नवप्रवेशी युवाहरूले धनुषा–३ को समग्र विकास र स्थायित्वका लागि विमलेन्द्र निधिको जित अपरिहार्य रहेको भन्दै घरदैलोदेखि सामाजिक सञ्जालसम्म सक्रिय रूपमा प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले युवाहरूको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताए । उनले युवाको ऊर्जा र अनुभवको समन्वयमार्फत क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा ठोस पहल गरिने विश्वास दिलाए ।
‘राजनीतिमा युवाको सहभागिता बढ्नु लोकतन्त्रका लागि सकारात्मक संकेत हो,’ उनले भने ।
स्थानीय तहमा पछिल्लो समय कांग्रेसप्रति युवाहरूको आकर्षण बढ्दै गएको दाबी गर्दै पार्टीका नेताहरूले धनुषा–३ मा चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको बताए ।
उनीहरूका अनुसार आगामी दिनमा अझै ठूलो संख्यामा अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने तयारी भइरहेको छ ।
धनुषा–३ मा चुनाव नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किँदै गएको छ । यद्यपि, कांग्रेस नेतृत्वले युवाको साथ र जनसमर्थनका आधारमा आफूहरू विजयी हुने दाबी दोहोर्याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


