जनकपुरधाम, १६ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस र राष्ट्रिय मुक्ति पार्टी नेपाल बीच १३ बुँदे साझा संकल्पसहित सहमति भएको छ ।

दुवै दलले पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिलाई संयुक्त रूपमा समर्थन गर्ने घोषणा गरेका छन् ।

शनिबार जटहीस्थित शहीद दुर्गानन्द झा स्मृति सभा हलमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको सहमतिपत्रमा धनुषा–३ को समृद्धि, मधेशको स्वाभिमान र लोकतान्त्रिक मूल्यको रक्षा मुख्य एजेन्डा बनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार निधिले अहिलेको निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई मधेशको पहिचान र विकासको दिशानिर्देश तय गर्ने ऐतिहासिक घडी भएको बताए ।

उनले भने, ‘एकातिर अस्थिरता र प्रतिगमनको जोखिम छ भने अर्कोतिर लोकतन्त्रको रक्षा र समृद्धिको स्पष्ट मार्गचित्र छ । हामीले दोस्रो मार्ग रोजेका छौं ।’

निधिले १३ बुँदे साझा कार्ययोजनालाई लिखित राजनीतिक प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

सहमति अनुसार निर्वाचनपछि तत्काल कार्यान्वयन गर्ने योजना यसप्रकार छन्–
१. स्वास्थ्य क्रान्ति र शहीद सम्मान : नगराइन–जटही क्षेत्रमा १०० शय्याको ‘शहीद दुर्गानन्द झा स्मृति अस्पताल’ निर्माण गर्ने, साथै प्रदेशस्तरीय बाल अस्पताल तथा प्रसूति गृह स्थापना गर्ने ।

२. शिक्षाको केन्द्र निर्माण : फुलगामा (मनिहारी) मा राजर्षि जनक विश्वविद्यालयको भौतिक संरचना विस्तार गरी क्षेत्रलाई ‘एजुकेसन हब’ बनाउने ।

३. न्यायको खोजी : बेपत्ता बौद्धिक व्यक्तित्व डा. लक्ष्मी नारायण झाको अवस्थाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनका लागि पहल गर्ने ।

४. दलित सशक्तीकरण : ‘नमुना दलित आवास’ कार्यक्रम र सीपमूलक रोजगारी प्याकेज तत्काल लागू गर्ने ।

५. अन्तर्राष्ट्रिय पहिचान : रामजानकी बहुउद्देश्यीय रंगशाला लाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी निर्माण सम्पन्न गर्ने तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने ।

६. कनेक्टिभिटी र एयरपोर्ट स्तरोन्नति : जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरी दिल्ली, अयोध्या तथा खाडी मुलुकसम्म सिधा उडान सञ्चालनका लागि पहल गर्ने ।

७. औद्योगिक क्रान्ति : प्रत्येक ग्रामीण क्षेत्रमा ‘ग्रामीण उद्योग ग्राम’ स्थापना गरी कम्तीमा ५०० युवालाई प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने ।

८. वातावरण र पर्यटन : तिरहुतिया गाछीलाई ऐतिहासिक मर्यादा जोगाउँदै आधुनिक बोटानिकल गार्डनका रूपमा विकास गर्ने ।

९. व्यापारिक सुरक्षा : जटही भन्सारलाई सुक्खा बन्दरगाह (Dry Port) मा रूपान्तरण गरी स्थानीय व्यापार प्रवर्द्धन गर्ने ।

१०. पूर्वाधार विस्तार : ट्राफिक जाम समाधानका लागि ‘जानकी चक्रपथ (रिङ रोड)’ निर्माणलाई युद्धस्तरमा अघि बढाउने ।

११. सांस्कृतिक सम्बन्ध विस्तार : जनकपुर–अयोध्या आध्यात्मिक सम्बन्धलाई उपयोग गर्दै धार्मिक पर्यटन सर्किट निर्माण गर्ने ।

१२. उद्यमशीलता प्रवर्द्धन : प्रत्येक पालिकामा महिला उद्यम कोष र युवाका लागि बिना धितो स्टार्टअप अनुदान व्यवस्था गर्ने ।

१३. शून्य सहनशीलता नीति : भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्दै पारदर्शी र सेवाग्राहीमैत्री प्रशासन सुनिश्चित गर्ने ।

सहमति पत्रमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, धनुषाका अध्यक्ष राजु चौधरीले हस्ताक्षर गर्दै निधिको नेतृत्वमा क्षेत्रको विकासका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्ने घोषणा गरे ।

कार्यक्रममा बोल्दै चौधरीले भने, ‘हामीले व्यक्ति नभई दृष्टिकोण र कार्ययोजनालाई समर्थन गरेका हौं । धनुषा–३ को मुहार फेर्ने संकल्पका साथ यो ऐक्यवद्धता भएको हो ।’