जनकपुरधाम, १६ फागुन । मधेश प्रदेशका सभामुख रामअशिष यादवले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन प्रत्येक नागरिकले राजनीतिसँग सचेत र सकारात्मक लगाव राख्नु आवश्यक रहेको बताएका छन् ।

राजनीति फोहोरी खेल हो भन्ने धारणाले समाजलाई कमजोर बनाउने उल्लेख गर्दै उनले जिम्मेवार नागरिकको रूपमा राजनीतिक प्रक्रियामा सहभागिता अपरिहार्य भएको धारणा व्यक्त गरे ।

मैथिली साहित्य समाजद्वारा आयोजना हुँदै आएको मासिक कवि गोष्ठीको १२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले लोकतन्त्र सुदृढ बनाउन जनताको निरन्तर चासो र सक्रियता आवश्यक पर्ने बताए ।

‘राजनीतिबाट टाढिनु समस्याको समाधान होइन, बरु त्यसलाई शुद्ध र जनमुखी बनाउन सहभागिता बढाउनुपर्छ,’ उनले भने ।

उनले पछिल्लो समय युवापुस्ता राजनीतिप्रति निराश हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सक्षम र सचेत युवाहरूलाई सक्रिय राजनीतिमा होमिन आग्रह गरे ।

लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन नयाँ पुस्ताको ऊर्जा र विचार आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुख यादवले संघीय व्यवस्थाको संरक्षण र सुदृढीकरणतर्फ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

‘संघीयता हाम्रो उपलब्धि हो, यसलाई कमजोर पार्ने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्छ,’ उनले भने ।

एक भाषा र एक भेष लाद्ने प्रवृत्ति पुनः सक्रिय हुन खोजेको बताउँदै उनले सांस्कृतिक विविधताको संरक्षणमा एकता आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न साहित्यकारहरूले आ–आफ्ना कवितामार्फत समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषय उठान गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रम साहित्यिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।