जनकपुरधाम, १६ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार जुलीकुमारी महतो घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटेकी छन् ।

घरदैलोका क्रममा उनले ‘परिवर्तन’को नारा दिँदै मैदानमा उत्रिएका प्रतिस्पर्धीहरूमाथि जनतालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाइन् ।

जनकपुरधाम–३ अन्तर्गत विभिन्न बस्तीमा पुगेकी महतोले विगतमा अवसर पाइसकेका नेताहरूले पुनः आफूलाई ‘नयाँ’का रूपमा प्रस्तुत गर्नु राजनीतिक ईमान्दारिताविरुद्ध भएको दाबी गरिन् ।

‘सांसद भइसकेका व्यक्तिले फेरि नयाँको आवरण ओढेर परिवर्तनको नारा दिनु जनतालाई अलमल्याउने रणनीति मात्र हो,’ उनले भनिन्, ‘यहाँका मतदाताले नाराभन्दा काम खोजिरहेका छन् ।’

उनले धनुषा–३ का नागरिक व्यवस्था परिवर्तनभन्दा पनि विकासका लक्ष्य, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य सुधार र पूर्वाधार विस्तारजस्ता ठोस कार्ययोजना अपेक्षा गरिरहेको बताइन् ।

देश विकासका लागि स्पष्ट दृष्टिकोण र व्यवहारिक खाका एमालेसँग मात्रै रहेको दाबी गर्दै उनले मतदाताले त्यसलाई सकारात्मक रूपमा लिइरहेको उल्लेख गरिन् ।

एमाले जनकपुरधाम–१ का वडा सभापति अर्को दलमा प्रवेश गरेको प्रसंगमा प्रतिक्रिया दिँदै महतोले संगठन व्यक्तिविशेषमा निर्भर नहुने बताइन् ।

‘एक–दुई जना बाहिरिँदैमा पार्टी कमजोर हुँदैन, संगठन बलियो संरचनामा उभिएको छ,’ उनले भनिन् । व्यङ्ग्यात्मक शैलीमा उनले जहाँ गए पनि अन्ततः एमालेकै एजेन्डाले देशलाई दिशा दिने टिप्पणी गरिन् ।

घरदैलो अभियानका क्रममा स्थानीयवासीले उठाएका खानेपानी, सडक, सिंचाइ, स्वास्थ्य सेवा तथा युवा रोजगारीका मुद्दा आफूले प्राथमिकतामा राखेको उनले स्पष्ट पारिन् ।

मतदाताका गुनासा सुन्दै उनले निर्वाचित भए जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याइन् ।

नयाँ दलहरूमाथि लक्षित टिप्पणी गर्दै उनले ठोस नीति र दीर्घकालीन दृष्टिकोणबिना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास भइरहेको आरोप लगाइन् ।

संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय स्वाधीनताको सवालमा एमाले निरन्तर संघर्षरत दल रहेको उनको भनाइ थियो ।

धनुषा–३ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा महतोले आफ्नो अभियानलाई विकास, स्थायित्व र राष्ट्रिय हितको मुद्दासँग जोड्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेकी छन् ।